नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकका लागि आएका तीन वटै प्रस्तावले आममानिसलाई आशा सिर्जना गर्न नसक्ने बताएका छन्।
प्रस्तावहरूमा समस्या बुझेको, समस्या बुझेको प्रतिबद्धता गरिएको तर समाधान के हो खुलाउन नसकेको पौडेलको भनाइ छ।
शुक्रबार केन्द्रीय समिति बैठकमा बोल्दै पौडेलले भने, ‘कतिपय मानिसहरू हाम्रो महासमितिले के निर्णय लिन्छ, के नीति लिन्छ भनेर हेरिरहेका छन्। ती नीतिका आधारमा कांग्रेसमा बस्ने वा नबस्ने उनीहरू निर्णय गर्नेवाला छन्। नयाँ मानिस पार्टीमा आउने कि नआउने निर्णय लिने तयारीमा छन्। तर प्रस्तावले आममानिसलाई आशा दिन सक्ने देखिँदैन।’
यति महत्वसाथ महासमिति बैठकलाई आमनागरिकले हेरिराखेको उल्लेख गरेका पौडेलले महासमितिलाई प्रस्ताव तयार पार्न केन्द्रीय समितिमा पेश गरिएका तीन वटै प्रस्तावले आशा सिर्जना गर्न नसकेको बताउँछन्।
उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका छन्। ती प्रस्तावबारे सुझाव दिन सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरूलाई पाँच मिनेट समय दिएका छन्।
बिहीबारदेखि केन्द्रीय समितिमा ती प्रस्तावबारे घनिभूत छलफल भइरहेको छ।
पौडेलले समस्याको समाधान दिन सक्ने प्रतिबद्धतासहित प्रस्तावलाई महासमिति बैठकमा लागिनुपर्ने र त्यहाँ गहिरोसँग छलफल हुनुपर्ने बताए।
‘प्रस्तावहरूमा सुशासन शब्दको प्रयोग धेरै गरिएको भेटेँ। सुशासन ल्याउन त प्रस्तावमा धेरै लेखेर मात्र हुँदैन, कसरी सुशासन ल्याउने भन्ने कार्ययोजना खोइ?,’ उनले प्रश्न गरे, ‘पहिले पनि कांग्रेसका दस्ताबेजमा सुशासन शब्दको प्रयोग धेरै पटक भएको छ तर त्यसबेला पनि कार्ययोजना आएको थिएन। अहिले पनि आएन।’
उनले कसरी मुलुकमा सुशासन ल्याउन सकिन्छ भन्नेबारे प्रस्ताव मौनजस्तै रहेको बताए।
‘सुशासन मन्त्रालय बनाएर हो कि, अख्तियारलाई स्वतन्त्र र अधिकार सम्पन्न बनाएर हो कि सम्पत्ति शुद्धीकरणलाई अझै अधिकार दिएर मुलुकमा सुशासन आउने हो, प्रस्तावमा केही कार्ययोजना नै छैन,’ उनले भने, ‘भ्रष्टाचार न्यूनिकरणका लागि पनि कार्ययोजना केही छैन।’
उनले फौजदारी कानुन लागेका कांग्रेसकै कतिपयलाई राज्यको कानुनअनुसार कारबाही गर्न नसकिएको उल्लेख गर्दै भ्रष्टाचारमा शून्य सहनशीलता भनेर मात्र नपुग्ने बताए। ‘भ्रष्टाचार अन्त्य किन नभएको र त्यसका लागि के गर्नुपर्छ भन्नेबारे केही लेखिएको छैन,’ उनले भने।
संघीयता बोझिलो भयो भन्ने चर्चा भइरहेको उल्लेख गरेका उनले छरितो बनाउने कार्ययोजना प्रस्तावमा नभेटिएको पनि बताए। ‘प्रदेशका प्रशासनिक खर्च कम गर्ने उपाय के छन्? कर्मचारीतन्त्र पुनर्संरचना र रोजगारी सिर्जना गर्ने कांग्रेसको नीति के हो? केही प्रस्ताव छैन,’ उनले भने।
उनले तीनवटै प्रस्तावमा धेरै कुरा छुटेको बताए।
महामन्त्री थापाले पेश गरेको सांगठानिक प्रस्तावमा महाधिवेशन कार्यतालिका र आगामी चुनावमा गठबन्धन नगर्ने विषय स्वागतयोग्य भएको उनले बताए।
‘पार्टीमा सदस्यहरूले नै भोट हालेर नेतृत्व चयन गर्ने विषय राम्रो छ। तर नागरिकको सहभागिता कहाँनेर हामीले सुनिश्चित गर्न सक्छौं यो कुरा छुटेको छ,’ उनले भने।
यो पनि:
गठबन्धन गर्दा ७ प्रतिशत लोकप्रिय मत र १३.२ प्रतिशत मतदाता गुमायौं: गगन थापा
महामन्त्री थापाको सांगठानिक प्रस्ताव- शिक्षक र कर्मचारीलाई कांग्रेस सदस्यता नदिने
महामन्त्री थापाको सांगठनिक प्रस्ताव- ०८२ मंसिरभित्रै कांग्रेसको १५ औं महाधिवेशन
कांग्रेसको प्रस्तावित नीतिका मुख्य ११ बुँदा