नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक गर्दैछ। यो महासमितिबाट कांग्रेसले पार्टीले लिने नीति तय गर्नेछ।
उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नेछन्।
ती प्रस्तावबारे बिहीबारदेखि केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरूले धारणा तथा सुझाव राखिरहेका छन्।
केन्द्रीय सदस्य कल्याण गुरूङले महिनापिच्छे तलब दिने व्यवस्थालाई परिमार्जन गरी हप्तैपिच्छे दिने नीति बनाउन कांग्रेसले पहल गर्नुपर्ने बताए।
‘महिनामा तलब दिने व्यवस्थालाई परिवर्तन गरेर हप्तामा दिने व्यवस्थाको कानुन बनाउन कांग्रेसले पहल गर्नुपर्छ,’ उनले भने।
उनले पदाधिकारी तथा केन्द्रीय सदस्य स्वत: महासमिति सदस्य हुने व्यवस्था हटाउन माग गरेका छन्।
उनले कोशी प्रदेशको नाम परिवर्तन गरेर बहुपहिचानका आधारमा कोशी-किरात प्रदेश वा कोशी-किरात-सगरमाथा प्रदेश राख्नुपर्ने बताए।
उनले १५ औं महाधिवेशनबाट लागू हुने गरी कांग्रेसका सबै तहका सभापति, पदाधिकारीहरू राज्यको कुनै पनि कार्यकारी पदमा जान नपाउने वैधानिक व्यवस्था गर्न पनि माग गरेका छन्।
उनले समावेशी सिद्धान्तअनुसार महामन्त्री थप गरिनुपर्ने बताए। गुरूङले तीन वटा प्रस्तावमाथि केन्द्रित रहेर १७ बुँदे धारणा केन्द्रीय समितिमा राखेका थिए।