नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले छलफलबिनै महासमितिमा पेश गरिने तीन वटा प्रस्ताव ल्याइएकोमा असन्तुष्टि जनाएका छन्।
उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव तयार पारेर बिहीबार केन्द्रीय समितिमा पेश गरेका थिए।
तर महरले ती प्रस्तावको स्वामित्व लिन नसकिने बताएका छन्। शुक्रबार सानेपामा केन्द्रीय समिति बैठकमा बोल्दै महरले प्रस्तावहरू केन्द्रीय सदस्यहरूसँग छलफलबिनै तयार पारिएकोमा असन्तुष्टि जनाएका हुन्।
‘यी प्रस्तावहरू केन्द्रीय समितिको निर्णयअनुसार आएको भने पनि आजसम्म संयोजकबाहेक केन्द्रीय सदस्यहरूसँग छलफलबिनै आएको छ। यो प्रस्ताव हामीले स्वामित्व लिन सक्दैनौं,’ महरले केन्द्रीय समितिमा भने।
उपसभापति खड्काले तयार पारेको नीति प्रस्तावमा इतिहासका कुरा मात्रै आएको उनले बताए। ‘नयाँ कुरा खोइ?,’ उनको प्रश्न छ, ‘कांग्रेसले जीवन उपयोगी मानवतावादी शिक्षाको नीति लिनुपर्छ।’
उनले महामन्त्री थापाको प्रस्तावमा सभापतिलाई अझै बलियो बनाउने उल्लेख गरिएकोमा विमति राखेका छन्।
‘महामन्त्रीको सांगठनिक प्रस्तावमा पार्टीका विभिन्न निकायमा सभापतिले मनोनित गर्ने कुरामा मेरो विमति छ। समाजवादी र माओवादीसमेत निर्वाचनमा केन्द्रित भएको बेलामा पूर्ण निर्वाचित समिति बन्नेतिर पो हामी जानुपर्छ,’ उनले भने।
महाधिवेशन प्रतिनिधि निर्वाचन लडेर क्षेत्रबाट आउनुपर्ने उनले बताए। पालिका पार्टी सभापतिलाई प्रदेश समितिको निर्वाचनमा स्वतः प्रतिनिधि हुने व्यवस्था गर्नुपर्ने उनले सुझाव दिए।
पार्टीमा वर्गीय र महिलाको प्रतिनिधित्व ५० प्रतिशत गर्नुपर्ने, संविधानको पूर्ण कार्यान्वयनमा लाग्नुपर्ने र विधानअनुसार चार वर्ष अन्तरालमा महाधिवेशन सुनिश्चित गरेर जानुपर्ने उनले बताए।
उनले युवालाई पार्टीमा काम गरेर देखाउने अवसर दिनुपर्ने पनि बताए। चुनावअघिको गठबन्धन अब स्वीकार्य नहुने उनको भनाइ छ। ‘बाँकी कुरा म महासमिति बैठकमै लिखित रूपमा राख्छु,’ उनले भने।
कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक गर्दैछ।
यो पनि:
गठबन्धन गर्दा ७ प्रतिशत लोकप्रिय मत र १३.२ प्रतिशत मतदाता गुमायौं: गगन थापा
महामन्त्री थापाको सांगठानिक प्रस्ताव- शिक्षक र कर्मचारीलाई कांग्रेस सदस्यता नदिने
महामन्त्री थापाको सांगठनिक प्रस्ताव- ०८२ मंसिरभित्रै कांग्रेसको १५ औं महाधिवेशन
कांग्रेसको प्रस्तावित नीतिका मुख्य ११ बुँदा