नेपाली कांग्रेसमा ८ लाख ६९ हजार पाँच सय ५१ जना क्रियाशील सदस्य छन्।
महामन्त्री गगन थापाले फागुन ७ देखि १० गतेसम्म चल्ने महासमिति बैठकमा पेश गर्न तयार पारेको सांगठानिक प्रतिवेदनमा क्रियाशील सदस्य संख्याबारे उल्लेख छ।
यी क्रियाशील सदस्यमध्ये एक लाख १४ हजार पाँच सय २५ जना त क्षेत्रीय प्रतिनिधि नै निर्वाचित भएको देखिन्छ।
‘कांग्रेसमा लागेर पद पाइएला वा नपाइएला, सत्तामा हुँदा मलाई के फाइदा होला भनेर व्यक्तिगत स्वार्थ नहेर्ने ठूलो संख्या पार्टीमा आबद्ध छ,’ थापाले ४६ पृष्ठको प्रस्तावमा लेखेका छन्, ‘पार्टीमा स्वाभिमानपूर्वक गरिखाने सदस्यको बाहुल्यता छ। सदस्यता शुल्क तिर्ने र पार्टीलाई आवश्यक परेका बेला सधैं उपलब्ध हुने र सामाजिक काममा क्रियाशील रहने कांग्रेसजनको संख्या उल्लेख्य छ।’
१४ औं महाधिवेशनसम्म क्रियाशील सदस्यताको समस्या समाधान गरी ती क्रियाशील सदस्य नवीकरणका लागि विवरण जिल्लामा पठाइएको थापाले उल्लेख गरेका छन्। नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणका काम निरन्तर भइरहेको छ।
सदस्यता अनलाइनमार्फत् उपलब्ध गराउने व्यवस्था गरिएको, क्रियाशील सदस्यता कार्ड पनि जिल्लामै प्रिन्ट हुने व्यवस्था गरिएको र डिजिटल कांग्रेस अवधारणाअनुसार सबै तहका गतिविधि, सदस्यता र अभिलेखलाई एकीकृत गर्दै विद्युतीय अभिलेख प्रणालीको प्रक्रिया र अभिलेख सङ्कलन गर्ने कार्य अगाडि बढेको थापाले उल्लेख गरेका छन्।
‘पार्टीमा विचार मन्थनको काम पुन: आरम्भ भएको छ। कार्यतालिकामा ५० प्रतिशत र सांगठनिक गतिविधिमा ५० प्रतिशत कार्यक्रम गर्ने प्रारूपअनुसार युवा पोलिसी ह्याकाथन, बिपी साहित्य महोत्सवजस्ता कार्यक्रम गरिएको छ,’ सांगठानिक प्रस्तावमा उल्लेख छ।
कार्यालयमा पुस्तकालय, स्रोत केन्द्र निर्माण गररिएको र विषयगत रूपमा संवाद तथा विज्ञसँग छलफल कार्यक्रमलाई निरन्तरता दिने तयारी कांग्रेसको छ। पार्टीमा १८ वर्षदेखि ९० वर्षसम्मका विशाल परिवार रहेको थापाले उल्लेख गरेका छन्।
‘पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास छ। नेतृत्व छनोट प्रक्रियामा सहभागीता मात्र होइन निर्णय प्रक्रियामा सहभागीता, पार्टीभित्र चित्त नबुझेका कुरा भन्ने र फरक मत राख्ने खुला वातावरण छ,’ उनले भनेका छन्, ‘केन्द्रदेखि ६ हजार ७ सय ४३ वडा र मातहतका टोल कार्यसमितिसम्म ८ वटै तहका पार्टीको समावेशी कार्यसमिति छ।’
पार्टीमा १३ भ्रातृ संस्था, २६ शुभेच्छुक संस्था, ३७ जनसम्पर्क समिति क्रियाशील रहको र केन्द्र, प्रदेश, जिल्ला सम्पर्क समितिहरू गठन भएको अवस्था रहेको सांगठनिक प्रतिवेदनमा उल्लेख छ।
‘हामीसँग गौरवमय इतिहास मात्र होइन माथि उल्लेख गरेजस्तै २०८० सालमा आइपुग्दा ८ लाख ६९ हजार क्रियाशील सदस्य, समुदायको जरैसम्म समावेशी संरचना र सबैभन्दा प्रतिबद्ध सदस्य र कार्यकर्ताको ठूलो पङ्ति छ,’ उनले भनेका छन्।
चुनावमा रूख चिन्ह नहुँदा असन्तुष्टि
महामन्त्री थापाको सांगठनिक प्रस्तावमा तिनै तहको निर्वाचनमा कतिपय स्थानमा गठबन्धन भएको र मतपत्रमा रूख चिन्ह नभएकोमा असन्तुष्टि पैदा भएको उल्लेख छ।
गठबन्धनका कारण ७४ प्रतिनिधि सभा क्षेत्रमा कांग्रेसले आफ्ना उम्मेदवारलाई मत राख्न पाएनन्। २१ वटा संघीय क्षेत्रका एउटा पनि प्रदेश क्षेत्रमा आफ्नो पार्टीलाई प्रत्यक्ष मत राख्न पाएनन्।
४८ प्रदेश सभा क्षेत्रमा कांग्रेसका प्रत्यक्षतर्फ उम्मेदवार नै थिएनन्। समग्रमा ६२ प्रदेश सभा क्षेत्रका मतदाताले प्रतिनिधि सभा र प्रदेश सभामा रूख चिन्हमा मतदान गर्न पाएनन्।
१७ वटा क्षेत्रमा दुवै प्रदेशसभामा रूखमा मत हाल्न पाए तर प्रतिनिधि सभामा नपाएको सांगठनिक प्रस्तावमा उल्लेख छ।
‘यसरी एकातर्फ कांग्रेसका क्रियाशील सदस्यले आफ्नो चिन्हमा मत हाल्न पाएनन् नै अर्कोतर्फ अन्य दलको निर्वाचन चिन्ह र झण्डा बोकेर मत माग्न हिँड्नुपर्ने बाध्यात्मक अवस्थामा हामीले पुर्यायौं,’ सांगठानिक प्रस्तावमा उल्लेख छ।
गठबन्धन गर्दा घट्यो लोकप्रिय मत
गठबन्धन गर्दा आकांक्षीको व्यवस्थापनमा समेत कठिन देखिएको सांगठनिक प्रस्तावमा उल्लेख छ। साथै पार्टीभित्र ऊर्जामा पनि गिरावट आएको थियो।
‘पार्टी पहिलो भए पनि लोकप्रिय मत घट्यो। २०७४ को चुनावबाट २०७९ को चुनावसम्म आइपुग्दा प्रतिनिधि सभा चुनावमा हाम्रो लोकप्रिय मतको हिस्सामा ७ प्रतिशतले ह्वास आएको छ। दुई चुनावको बीचमा हामीले १३.२ प्रतिशत त मतदाता नै गुमायौं,’ महामन्त्री थापाको प्रस्तावमा उल्लेख छ, ‘यही कुरा सात प्रदेश सभा चुनावको मतका आधारमा हेर्ने हो भने हाम्रो लोकप्रिय मतको हिस्सा कायम राख्न चाहिने मतभन्दा १५.७४ प्रतिशत कम मत पाएका छौं।’
स्थानीय चुनावमा गठबन्धन नगर्दा लोकप्रिय मत कांग्रेसकै आएको देखिएको उनले उल्लेख गरेका छन्। ‘स्थानीय तह चुनावमा हामीले तल्लो तहमै आवश्यकताका आधारमा तालमेल गर्ने भनेका थियौं। बाध्यात्मक बनाएका थिएनौं,’ उनले भनेका छन्।
पार्टी सरकारमा भएको महसुस भएन
संघ, प्रदेश र बहुसंख्यक स्थानीय सरकारमा कांग्रेस भए पनि कार्यकर्ताले पार्टी सरकारमा भएको महसुस नगरेको सांगठनिक प्रस्तावमा उल्लेख छ।
‘सरकारका नीति, प्राथमिकता र कार्यक्रमसँग पार्टी जोडिएको अनुभूत गर्न सकेको छैन। यस्तो अवस्थामा जताततै पार्टीभित्र एकखालको अलमल छ- हामीले सरकारको प्रतिरक्षा गर्ने कि प्रश्न!’ महमन्त्री थापाले भनेका छन्।
पार्टीभित्र गुट हाबी भएकोले इमान्दारितापूर्वक संगठनमा लागेका सदस्यलाई निरूत्साहित र व्याकुल बनाएको उनले उल्लेख गरेका छन्।
‘बहुमत भएकोले फरक मत राख्नेलाई बेवास्ता गर्ने र पराजितले जितेकालाई असहयोग गर्ने प्रवृत्तिले अन्तत: संगठनलाई नै कमजोर बनाएको छ,’ उनले भनेका छन्।