नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८२ मंसिरभित्रै १५ औं महाधिवेशन गर्ने गरी सांगठनिक प्रस्ताव तयार पारेका छन्।
फागुन ७ देखि १० गतेसम्म गोदावरीमा हुने महासमिति बैठकमा पेश गर्न महामन्त्री थापाले तयार पारेको प्रस्ताव बिहीबार केन्द्रीय कार्यसमितिमा छलफल गर्न पेश भएको छ।
जसमा वडादेखि केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका नै समेटिएको छ।
२०८१ साउन मसान्तभित्र पार्टी विधान संशोधन गर्ने विषयमा सुझाव सङ्कलन गर्ने, ०८१ असोजमा विधान महाधिवेशन गर्ने र ०८१ कात्तिकभित्र पारित विधान र अद्यावधिक क्रियाशील सदस्यको नाम केन्द्रीय निर्वाचन समितिलाई बुझाउने प्रस्तावसमेत थापाले राखेका छन्।
यस्तै ०८१ मंसिर १५ भित्र वडा अधिवेशन र मंसिर मसान्तभित्र गाउँ/नगर अधिवेशन गर्ने प्रस्ताव छ।
०८२ भदौ मसान्तभित्र प्रदेश सभा, प्रतिनिधि सभा, केन्द्रीय महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य चयन गरिसक्ने कार्यतालिका प्रस्ताव भएको हो।
जिल्ला अधिवेशन र विदेशस्थित जनसम्पर्क समितिका अधिवेशन ०८२ असोज मसान्तभित्र गर्ने कार्यतालिका छ। ०८२ कात्तिक मसान्तभित्र सातै प्रदेश अधिवेशन र मंसिर मसान्तभित्र केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरिएको हो।
कांग्रेस विधानअनुसार चार वर्षको फरकमा महाधिवेशन गर्नुपर्ने हुन्छ। कांग्रेसले ०७८ मंसिर मसान्तमा १४ औं महाधिवेशन गरेको थियो।
यो पनि: कांग्रेसको प्रस्तावित नीतिका मुख्य ११ बुँदा