संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा सदस्यको बैठक बसेको छ।
बुधबार बिहान ११ बजेदेखि प्रतिनिधि सभा सदस्यको बैठक बसेको हो। बैठकको शून्य समयमा विभिन्न सांसदहरूले आफ्ना धारणाहरू राखेका थिए।
त्यसपछि नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले आफ्ना कुरा राखेका छन्। नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक पदम गिरीले आफ्नो कुरा राखेका हुन्।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। सोही विधेयकलाई पारित गरियोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।
आजै बस्ने प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ। पूर्वमन्त्री बुढाथोकी २०६४ र २०७० को संविधान सभा सदस्य थिए। बुढाथोकीको सोमबार राति विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो।
तस्बिरहरू: