गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध गर्ने नेता, कर्मचारी र व्यवसायीलाई कारबाही गर्दा दबाब आउने गरेको बताएका छन्।
‘कुनै अपराधको काममा, ठगीको काममा, जालसाजीमा, लुटमा कोही राजनीतिक पृष्ठभूमिका मान्छे पक्राउ परे भने राजनीतिक पार्टीका मान्छे कराउन थाल्छन्, यो त हाम्रो नेता हो, हाम्रो पार्टीको हो, गठबन्धनको हो, प्रतिपक्षको हो भनेर,’ उनले भने।
अपराधमा संलग्न कर्मचारीलाई कारबाही गर्दा कर्मचारी संगठन र व्वयसायीलाई कारबाही गर्दा पनि दबाब आएको उनले बताए।
‘यो देशका कर्मचारीले गल्ती गरेर कारबाही गर्न थाल्यो भने कर्मचारी कराउन थाल्छ, कर्मचारीलाई त्यसो गर्न भएन नि भनेर कर्मचारी संगठन आउँछ,’ उनले भने, ‘गल्ती अपराध गर्ने व्यवसायीलाई कारबाही थाल्यो भने वक्तव्यबाजी सुरू हुन्छ।’
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार व्यवसायी अरूण चौधरीलाई पक्राउ परेको थियो। सरकारी जग्गा हडपेको आरोपमा चौधरी पक्राउ परेपछि उद्योगी, व्यवसायीले अपराध प्रमाणित नहुँदै अपराधीलाई जस्तो व्यवहार गरेको भन्दै विरोध जनाएका थिए।
गृहमन्त्री श्रेष्ठले निजी क्षेत्रको साथ र सहयोगबाट मात्र देशको अर्थतन्त्र सुधार हुने भन्दै अपराध गर्ने छुट कसैलाई नभएको बताए।
‘कसैलाई पनि जालसाजी गरेर ठग्ने छुट दिन सकिँदैन, अपराध गर्ने छुट दिन सक्दैनौं,’ उनले भने।
गण्डकी प्रदेशस्तरीय सुरक्षा सम्मेलनमा शुक्रबार पोखरामा उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले कुनै पनि प्रकारको दबाब र हस्तक्षेपबाट भयभीत नहुन निर्देशन दिए।
‘तपाईंहरू दृढतापूर्वक उभिनुस्, संविधान, ऐन नियम कार्यान्वयन गर्न र लोकतन्त्रको प्रत्याभूत गर्न उभिनुस्,’ उनले निर्देशन दिँदै भने, ‘कुनै पनि अवाञ्छित हस्तक्षेपबाट भयभीत हुनु पर्दैन।’
भिडिओ: