नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सजिलै प्रधानमन्त्री पद नछाड्ने बताएका छन्।
कांग्रेससहित गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्ड प्रधानमन्त्री छन्।
गठबन्धन दलभित्र प्रचण्डपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको दाबी भइरहेको छ।
यसबारे कांग्रेस नेता विमलेन्द्र निधिले बुधबार दाङमा बोल्दै अब माधव नेपाल र त्यसपछि चुनावी सरकारको नेतृत्व गर्ने गरी यही गठबन्धनबाट देउवा प्रधानमन्त्री बन्ने बताएका थिए।
बिहीबार नवरपुलमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले प्रचण्डले सजिलै प्रधानमन्त्री नछाड्ने बताए।
‘भन्न त हुँदैन होला, तर म भन्छु। प्रचण्डजी अत्यन्त 'म्यानुपुलेटेड' मान्छे हुनु हुँदो रहेछ। उहाँले सजिलै प्रधानमन्त्री पद छोड्नुहुन्न,’ कोइरालाले भने।
उनले प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद पुर्गठन गर्ने भए गठबन्धन दलहरूसँग छलफल गर्नुपर्ने उनले बताए।
‘राष्ट्र चलाउन प्रष्ट विचार हुनुपर्छ। कोशी निर्वाचनले माहौललाई अलिकति झट्का लागेको छ,’ कोइरालाले भने, ‘कोशी घटनाले गर्दा गठबन्धन केही हुन्न, अहिलेको सरकारलाई केही हुन्छ जस्तो लाग्दैन।’
भिडिओ: