नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेची-महाकाली संवाद यात्रा सुरू गरेका छन्।
शनिबार झापाको भद्रपुर नगरपालिका-५ मेची पुलबाट संवाद यात्रा सुरू गरेका हुन्।
समुदायमा कांग्रेस अभियान अन्तर्गत सुरू महामन्त्री थापाको संवादयात्रा शुभारम्भ कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता प्रदीप पौडेल लगायतका नेताहरू उपस्थित थिए।
शुभारम्भ कार्यक्रममा बोल्दै महामन्त्री शर्माले संवाद यात्राका क्रममा समुदायले दिने सुझावबारे फागुन ७ गते बस्ने पार्टीको महासमिति बैठकले गम्भीर छलफल गर्ने बताएका छन्। संवाद यात्राले कांग्रेसलाई नवीन र बलियो बनाउने र त्यही नवीन र बलियो कांग्रेसले नवीन नेपाल निर्माण गर्ने उनले बताए।
उनले महामन्त्री थापाको संवाद यात्रा फलदायी हुने विश्वाससमेत व्यक्त गरे।
संवाद यात्रामा जनताका कुरा सुन्ने, भाषणका कार्यक्रम नगर्ने तयारी छ।
संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम तय भएको छ।
संवाद यात्रा माघ २६ गते सकिनेछ।
तस्बिरहरूः
सबै तस्बिरः राजु अधिकारी/सेतोपाटी