राष्ट्रिय सभा निर्वाचनमा अपाङ्गतातर्फ गण्डकीबाट नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर परियार निर्वाचित भएका छन्।
बिहीबार भएको निर्वाचनमा उनले ३ हजार ७ सय ७४ मतभार पाएका थिए। उनलाई स्थानीय तहका १ सय १ प्रमुख तथा उपप्रमुख र ३५ जना प्रदेश सांसदले मत दिएर विजयी बनाएका थिए।
परियारका प्रतिश्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाएका थिए। उनलाई स्थानीय तहका ६८ जना प्रमुख तथा उपप्रमुख र प्रदेशका २२ जना सांसदले मत दिएका थिए। निर्वाचन कार्यालयका अनुसार अपाङ्गतातर्फ ३ मत बदर भएको छ।
अपांगता आन्दोलनबाट आएका पदम तनहुँ सदरमुकाम दमौलीको जलदेवी माविमा अध्यन गर्दागर्दै २०५१ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध हुन पुगेका थिए, पदम परियार।
उनी अहिले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाएको छ। पोलियोका कारण देब्रे खुट्टा छोटो र सानो भएका परियारलाई कांग्रेसले अपाङ्गता कोटाबाट उम्मेदवार बनाएको हो। उनी राष्ट्रिय लोकतान्त्रिक अपांगता महासंघको सदस्य छन्। अपाङ्गता भएका व्यक्तिका अधिकारका पक्षमा निरन्तर लागेका परियार पार्टी राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताउँछन्।
अपांगतासम्बन्धी विभिन्न संस्था स्थापना गर्न भूमिका खेलेका परियारले आफूलाई पार्टीले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएर उचित मूल्याङ्कन गरेको बताउँछन्। ‘राष्ट्रिय सभामा मैले आफ्नो क्षेत्रका नागरिकको प्रतिनिधित्व गर्छु, मेरो बुताले भ्याएसम्म योगदान दिन्छु भनेर सोचेको छु,’ उनले भने।