नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गलत कामका विरुद्ध विद्रोह र असहमति जरूरी रहेको बताएका छन्।
कृष्णप्रसाद कोइराला स्मृति परिषदले मंगलबार विराटनगरमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले नेताहरू वा शासकहरूले गलत गरिरहेका छन् भने बीपी कोइरालाले भनेजस्तो विद्रोह र असहमति राख्नुपर्ने बताए।
‘कृष्णप्रसाद कोइरालाले राणाकालमा चन्द्र शम्शेरलाई फाटेको दौरा सुरुवाल र टोपी पठाउनुभयो। त्यो असहमति वा विद्रोहको नमुना थियो,’ उनले भने, ‘पैसा कमाएर मात्र नहुने रहेछ र समाजका लागि केही गर्नुपर्छ भन्ने सन्देश थियो। त्यसैले गलत गरिरहेका छौं भने असहमति र विद्रोह जरुरी छ।’
२०६२–०६३ को जनआन्दोलन पनि तत्कालीन राजा ज्ञानेन्द्रको गलत कदमको प्रतिफल स्वरूप विद्रोह भएको उल्लेख गर्दै कोइरालाले जनआन्दोलनबाट प्राप्त भएको संविधान र संघीय गणतन्त्रलाई जनताका घर घरमा पुर्याउनुपर्ने बताए।
‘संघीयता शासन व्यवस्था भनेको केन्द्रीकृत शासन चलाउनु होइन। संघीयता वा संविधानले दिएको अधिकार जनताको घर घरमा पुर्याउनुपर्छ भनेको हो,’ उनले भने, ‘सुशासन कायम गर्नुपर्छ भनेको हो। तर नेपालमा त भ्रष्टाचार र दण्डहीनता बढेको बढ्यै छ। जवाफदेयी कोही छैन्, पारदर्शी छैन।’
आर्थिक, सामाजिक, धार्मिक सबै कुरा ठिक ढंगले नसकेको औल्याउँदै उनले सरकारले विकासको गति दिन नसकेको बताए। कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘कृष्णप्रसाद कोइराला स्मृति सम्मान २०८०’ प्रदान गरिएको थियो।