वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको छ।
एक किशोरीलाई नागरिकता दिलाएको आरोपमा मेयर सिंहविरूद्ध गृहमा लिखित उजुरी परेको हो।
‘वीरगञ्जमा क्रियाशील विभिन्न दलका स्थानीय नेताहरू काठमाडौं आएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मेयर सिंहले एक किशोरीलाई नियमविपरीत नागरिकता दिलाएको भन्दै ध्यानाकर्षण गराएका छन्,’ गृह मन्त्रालय स्रोतले सेतोपाटीसँग भन्यो, ‘मेयर सिंहमाथि छानबिन र आवश्यक कारबाही गर्नुपर्यो भनेर लिखित रूपमै उजुरीसमेत परेको छ।’
नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमतलगायत पार्टीका स्थानीय नेताहरूले केही दिनअघि गृहमन्त्री श्रेष्ठलाई भेटेर मेयर सिंहमाथि छानबिन गरिनुपर्ने भन्दै ध्यानाकर्षण गराएको गृह स्रोतको भनाइ छ।
मेयर सिंहले बाबु बनेर एक किशोरीलाई नागरिकता दिलाएको आरोप छ। कांग्रेस वीरगञ्जका क्षेत्रीय सभापति मोहम्मद सहाबुद्दिनले जिल्ला प्रशासन कार्यालय पर्सामा मेयर सिंहविरूद्ध उजुरीसमेत दिएका थिए।
झुटा विवरण पेश गरी एक किशोरीलाई वंशजको नागरिकता दिलाएको मेयर सिंहमाथि आरोप छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ बाट २०७१ कात्तिक २० गते जन्मदर्ता बनाई रूविना श्रेष्ठको नागरिकता बनाएको भन्दै सिंहमाथि उजुरी परेको हो। २०७५ साउन १३ गते पर्सा प्रशासनबाट रूविनाको नागरिकता जारी भएको र २०७६ फागुन ८ मा प्रतिलिपी लिएको देखिएको उजुरीमा उल्लेख रहेको स्रोतले जानकारी दिएको छ।
यसबारे जिल्ला प्रशासन कार्यालयमा गत पुस २४ मा उजुरी परेको थियो। मेयर सिंह 'नक्कली बाबु' बनेर रूविनालाई नागरिकता दिलाएको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन अघि बढाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल संयोजकत्वमा छानबिन समिति गठन भएको छ।
नागरिकता प्रकरणबारे मेयर सिंहसँग बुझ्न सेतोपाटीले पटक-पटक टेलिफोन गर्दा सम्पर्क हुन सकेन।
वीरगञ्जका उपमेयर इम्तियाज आलमले नागरिकतासम्बन्धी विषयमा महानगरमा कुनै छलफल नभएको प्रतिक्रिया दिए।
‘नागरिकतासम्बन्धी विषयमा महानगरमा छलफल भएको छैन, नागरिकता हेर्ने विषय महानगरको होइन, प्रशासनले हेर्ने हो,’ उनले भने।
०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा वीरगञ्जको मेयरमा जसपाका उम्मेदवार सिंह निर्वाचित भएका थिए।