लुम्बिनी प्रदेश योजना आयोगको महिला सदस्यमा कपिलवस्तुकी गीता केसी नियुक्त भएकी छन्। योसँगै आयोगले पूणर्ता पाएको छ।
शुक्रबारको मन्त्रिपरिषदको बैठकले ४९ वर्षीया केसीलाई योजना आयोगको रिक्त रहेको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए।
उपाध्यक्षसहित चार सदस्य रहने योजना आयोगमा उपाध्यक्षमा डा. नहकुल केसी र अन्य दुई सदस्य यसअघि नै नियुक्त भइसकेका थिए।
त्यस्तै, मन्त्रिपरिषदको बैठकले विशेष अनुदान कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८० स्वीकृत गर्ने निणर्य पनि गरेको छ। समयानुकूल गराउन कार्यविधि संशोधन गरिएको पाण्डेयले बताए।
त्यसअघि भएको प्रदेश योजना आयोगको आयोजनाको परामर्श कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले लगानीबाट आउने प्रतिफल आउने गरी काम गर्न निर्देशन दिएका थिए। बनाएको बाटोबाट स्थानीय र सरकारले पाउने प्रतिफल खोज्न जरूरी रहेको उनले बताए।
‘स्रोत परिचालन भयो भने त्यसका उपलब्धि देखिनु पर्छ,’ उनले भनेका थिए, ‘त्यो अनुसारका आयोगले नीति बनाउन जरूरी छ।’
लगानीकर्ताले दिएको रिपोर्ट पनि राज्य संयन्त्रले अध्ययन गरी सुधार गर्न सक्ने हुनुपर्ने तथा त्यो उपयोगी र काम लाग्ने हुनुपर्ने मुख्यमन्त्रीले बताएका थिए।