नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा मागेजति सिट दिन इन्कार गरेपछि बैठक छोडेर हिँडेका नेता शेखर कोइराला फेरि सानेपा फर्किएका छन्।
प्रमुख सचेतक रमेश लेखकले फोन गरेर बोलाएपछि उनी सानेपा फर्किएको कोइरालाको सचिवालयले जनाएको छ।
कोइरालाको सचिवालयका एक सदस्यका अनुसार‚ लेखकले कोइरालालाई फोन गरेर 'तपाईं आउनुस्, तपाईं नभई सहमति हुँदैन' भनेपछि कोइराला फर्किएका थिए।
सानेपा फर्किए लगत्तै कोइराला सभापति देउवासँग छलफलमा छन्। सानेपामा टिकट वितरण गर्न संंसदिय बोर्ड बैठक बसेको छ।
सत्ता गठबन्धनमा राष्ट्रिय सभाका १९ मध्ये दस सिट नेपाली कांग्रेसले पाएको छ।
सभापति शेरबहादुर देउवा अर्को समूहलाई दसमध्ये तीन सिट मात्रै दिन तयार भएका छन्। तर कोइराला समूहले चार सिट आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएको छ।
आइतबार दिउँसोदेखि निरन्तर भइरहेको छलफलमा देउवा टसमस नभएपछि असन्तुष्ट बनेका नेता कोइराला पार्टी कार्यालय सानेपामा चलिरहेको संसदीय बोर्डको बैठक छाडेर हिँडेका थिए।
संसदीय बोर्डका सदस्य नरहे पनि कोइरालालाई देउवाले बोलाएर छलफल गरेका थिए। सानेपामा देउवा पक्ष र कोइराला पक्ष छुट्टाछुट्टै बैठक पनि बसेका छन्।
तर कोइरालानिकट एक नेताले सेतोपाटीलाई बताएअनुसार‚ कोइराला 'चार सिट नदिने भए सबै तपाईं नै राख्नुस्' भनेर निस्किएका थिए।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले १० सिटमा उम्मेदवारी दिँदै छ। यसमध्ये कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौलाको मात्रै उम्मेदवारी टुंगो लागेको छ।