राष्ट्रपति रामचन्द्र पौडेलले बुटवलको जितगढी किल्लालाई नेपाल अंग्रेज युद्धको अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय स्थलको रूपमा प्रवर्द्धन गर्न बुटवल उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारलाई आग्रह गरेका छन्।
बुटवल उपमहानगरपालिका वडा नं. १ स्थित पुनर्निर्मित जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्दै राष्ट्रपति पौडेलले ऐतिहासिक र सामरिक महत्वको जितगढीको संरक्षणका लागि आग्रह गरेका हुन्।
राष्ट्रपति पौडेलले अंग्रेज फौजलाई परास्त गरी नेपालले जितगढीको युद्धबाटै अन्तर्राष्टिय रूपमा राष्ट्रको मान्यता प्राप्त गरेको बताए।
‘सम्वतः यही जितगढीको युद्धबाटै नेपालले अन्तर्राष्ट्रिय रूपमा स्वतन्त्र राष्ट्रको रूपमा मान्यता प्राप्त गरेको थियो, जितगढी किल्ला ठूला साम्राज्यसँग नेपाली सेनाले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी हो, यस्तो किल्लाको संरक्षण र प्रवर्द्धनमा थप चासो बढाउन आग्रह गर्दछु,’ राष्ट्रपति पौडेलले भने।
उनले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्णस्थल भएको उल्लेख गर्दै किल्लाको समयानुकूल प्रचार प्रसार र प्रवर्द्धन गर्दै पर्यटकीयस्थल बनाउन बुटवल उपमहानगरपालिकाले योजनाबद्ध रूपमा काम अगाडि बढाएकोमा आफूलाई खुसी लागेको बताए।
राष्ट्रपति पौडेलले जितगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरूरी रहेको बताए।
जितगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटनको विकासमा समेत योगदान दिने बताए।
उनले भने,‘यसका लागि अब बुटवल उपमहानगरपालिकाको विशेष भूमिका निर्वाहा गर्नेछ भन्ने मैले विश्वास गरेको छु। नेपाली सेनाले तीनै तहका सरकारसँग मिलेर जितगढी पुनर्निर्माणसम्बन्धी गुरूयोजना अनुसार पानीको फोहोरा, युद्ध झल्कने चित्र र एम्फी थिएटर लगायतका कामहरू भइरहेको जानकारी पाउँदा थप खुसी लागेको छ।’
राष्ट्रपति पौडेलले जितगढी किल्ला ठूला साम्राज्यसँग नेपाली सौर्य र कूटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको बताए।
उनले जितगढीमा युद्धकालकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ कमाण्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने नेपाली सेना र बुटवल उपमहानगरपालिकाको सराहनीय काम भएको बताए।
सो अवसरमा राष्ट्रपति पौडेलले सार्वभौम र स्वाभिमानी नेपाली भनी गर्व गर्न सक्ने आजको दिन वीर नेपाली सेनाले इतिहासमा देखाएको वीरता र सौर्यकै परिणाम भएको भन्दै नेपाली सेनाको इतिहासको प्रशंसा गरे।
उनले नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको पनि स्पष्ट पारे।
नेपाल र नेपालीको सुरक्षा, प्रकृति संरक्षण, राष्ट्रनिर्माण, विपद् व्यवस्थापन तथा नागरिकको सहयोगलगायत कार्य समेत नेपाली सेनाले गर्दै आएको चर्चा गर्दै राष्ट्रपति पौडेलले भने, ‘जहाँ नेपाली सेना पुगेर काम थालेको छ, त्यहाँका जनता ढुक्क हुने परिस्थिति निर्माण हुनु भनेको त्यो सैनिक-नागरिक सम्बन्ध विकासको राम्रो उदाहरण हो। गैरराजनीतिक चरित्रको मुलुकको प्रमुख सुरक्षा संगठन नेपाली सेनाले संविधानसम्मत हुने जुनसुकै सरकारका आदेशलाई सधैं शिरोधार्य गरेको छ। नेपाली सेनाको यो उत्कृष्ट विशेषताले उक्त संगठनलाई नेपाली जनतामाझ लोकप्रिय बनाएको छ।’
राष्ट्रपति पौडेलले प्रसिद्ध व्यापारिक केन्द्रको रूपमा रहेको बुटवललाई आर्थिक केन्द्रका रूपमा विकसित गर्ने र बुटवलसहितका नगरहरूलाई जोडेर मेगासिटी बनाउने जनप्रतिनिधिहरूको चाहना पूरा होस् भन्ने शुभकामना व्यक्त गरे।
किल्लाको पुनर्निर्माणपश्चात् नेपाली सेनाले हस्तान्तरण गरिसकेपछि अब यो किल्लाको थप संरक्षण र प्रवर्द्धनमा बुटवल उपमहानगरपालिकाले पर्याप्त चासो दिने छ भन्ने आफूले अपेक्षा राखेको राष्ट्रपति पौडेलको धारणा थियो।
यसअघि रूपन्देहीको नयाँ गाउँस्थित मुक्तिनाथ धामको अवलोकन तथा पूजा अर्चना गरेका थिए।