राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार बुटवल आउने भएका छन्।
बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको जितगढी किल्ला हस्तान्तरणका लागि राष्ट्रपति पौडेल बुटवल आउने भएका हुन्।
युद्धमार्फत आफ्नो साम्राज्य बिस्तार गर्दै हिंडेको इष्ट इण्डिया कम्पनीलाई पराजित गरी जितगढीमा नेपाली फौजले विजयको झण्डा फहराएको थियो।
अंग्रेज फौजलाई हराएर विश्वभर नेपालीको शिर उँचो बनाएपनि ओझेलमा परेको जितगढीमा नेपाली सेनाको अगुवाइमा बुटवल उपमहानगरपालिकाले विभिन्न ऐतिहासिक संरचनाहरु पुनर्निर्माण गरिरहेको थियो।
सोही जितगढी किल्लालाई शुक्रवार नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्दै छ।
विक्रम सम्वत् १८७१ पुस २१ गतेदेखि १८७२ वैशाख ७ गतेसम्म जितगढीमा नेपाल अंग्रेजबीच युद्ध भएको थियो।
अंग्रेजका तर्फबाट गभर्नर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जेनेरल सुलिभान उड र कमाण्डर क्रोकरको नेतृत्वमा आक्रमण गरिएको थियो भने नेपाली फौजको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए।
आधुनिक हतियार र तालिमप्राप्त अंग्रेज फौजलाई घरेलु हतियार र बच्चा बोकेमा महिला सहितको नेपाली फौजले १८७२ साल बैशाख ७ गते पराजित गरेको इतिहास छ। १८७१ देखि १८७२ सम्म भएको युद्धमा नेपालले जित हासिल गरेको थियो।
कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि विजय प्राप्त गरेको त्यही विरताको चिनो बुटवलको जितगढी किल्लामा युद्ध लड्दाको झलक सहित नेपाल र अंग्रेज फौजका प्रतिमा निर्माण गरिएका छन्।
अहिले बुटवल उपमहानगरपालिकाले नेपाली सेनाको सहयोगमा जितगढीको ऐतिहासिक महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रुपमा विकास गरेको छ।
जितगढी किल्लाको संरक्षणका लागि प्रदेश र संघ सरकारले पनि चासो दिएका छन्। पाँच सय वर्गफिट इलाकामा फैलिएको ऐतिहासिक गढीकिल्ला १६ औं शताब्दीतिर निर्माण भएको मानिन्छ।