धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्थापना दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' प्रमुख अतिथि बनेर आए मात्रै कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने सर्त राखेका छन्।
धरानलाई ‘संघीय सरकारले वास्ता नगरेको’ भन्दै पुस १२ गते मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका थिए।
साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको फोटो हटाएर पहिलो किराती राजा यलम्बरको फोटो राखेपछि धरानमा विवाद भएको थियो।
धरानका राजनीतिक दलहरूले मेयर स्वेच्छाचारी बनेको भन्दै विरोध जनाएका थिए। मंगलबार भने राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बोकेर राजनीतिक दलका भ्रातृ संस्थाका कार्यकर्ता उपमहानगर पुगेपछि कार्यालय परिसरमा केहीबेर तनावको स्थिति उत्पन्न भएको थियो।
राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बोकेर उपमहानगर पुगेका दलका भ्रातृ संस्थाका कार्यकर्ताहरू र मेयर साम्पाङबीच दुई घन्टा वार्ता भएको थियो। त्यस क्रममा मेयर साम्पाङले यस्तो सर्त अघि सारेका हुन्।
‘धरानस्थित सबै दलका जनवर्गीय संगठनका नेता कार्यकर्ताले मेयरज्यूसँग कुरा गर्यौं’, धरान १२ का जनप्रतिनिधिसमेत रहेका ब्रमज्ञ भट्टराईले भने. ‘उहाँले धरान 'डे' मा प्रधानमन्त्रीलाई प्रमुख अतिथिको रुपमा बोलाउने ग्यारेन्टी गरिदिनुस्, म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो मेरो कार्यकक्षमा राख्छु भन्नुभयो।’
धरानमा यसपटक पुस २० देखि स्थापना दिवस मनाउने तयारी चलिरहेको छ। भट्टराईका अनुसार त्यसक्रममा विभिन्न भ्रातृ सस्थाका नेताहरुले यसबारे आफूहरुले पार्टीलाई भन्दिने तर धरान नगरले प्रधानमन्त्रीलाई निम्तो दिनुपर्ने बताएका थिए।
‘मेयरले भने प्रधानमन्त्रीले मलाई स्वतन्त्र भनेर भाउ नै नदिएको गुनासो गर्नुभयो, यो मैले मेरो पनि अभिभावक (प्रधानमन्त्री) सँग घुर्क्याएको हो भन्नुभयो’, वार्तामा सहभागी भट्टराईले भने ‘तर उहाँले निम्तो लिएर धरानका प्रतिनिधि प्रधानमन्त्रीलाई भेट्न नजाने, दलहरुले बोलाइदिनु पर्ने शर्त राख्नुभयो। हाम्रो कुरा मिलेन।’
दलका भ्रातृ संस्थाहरुले मेयरलाई तीन दिनको अल्टिमेटम दिएका छन्। आफूहरुले तीन दिनभित्र राष्ट्रपति र प्रधानमन्त्रीको फोटो कार्यकक्षमा राख्न भनेको र मेयरले तीन दिनभित्र केही सोच्ने बचन दिएको भट्टराईले बताए। पछिल्लो समय धरानमा विमानस्थल बनाउन केन्द्रले चासो नदिएको भन्दै साम्पाङले रोष प्रकट गरिरहेका थिए।
मेयर साम्पाङले पुस ११ गते ‘केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्बिर राख्ने’ भनेर सामाजिक सन्जालमा लेखेका थिए। भोलिपल्ट अर्थात पुस १२ मा उनले फोटो हटाएका थिए।