नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सबै प्रमुख दलहरू मिलेर सर्वदलीय सरकार बनाउन प्रस्ताव गरेका छन्।
नेपाली ४८ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले तत्काल मुलुकमा देखिएको संकट टार्न सबै दलहरू मिलेर सरकार बनाउन प्रस्ताव गरेका हुन्।
संघीयतापछि दुई वटा चुनाव भइसक्दा पनि २० को १९ नहुनुमा निर्वाचन प्रणाली र शाशकीय स्वरूपमा त्रुटी रहेको बताउँदै भट्टराईले त्यसको हल गर्न तत्कालका लागि सबै दलहरू मिलेर सरकार चलाउनुपर्ने बताएका हुन्।
‘सबै प्रमुख दलहरूको सरकार बनाऔं। पाँचै वर्ष चल्ने गराऔं किन भागबन्डा गर्नुपर्यो। एउटा मान्ने मान्छेको नेतृत्वमा नीती कार्यक्रम बनाएर त्यसलाई कार्यान्वयन गराऔं,’ उनले भने।
जर्मनीमा पनि संकटको बेला एंगेला मर्केलले त्यस्तै उपाय लगाएर देशलाई संकटबाट मुक्त गरेको भट्टराईले बताए।
उनले यही प्रणालीले देश नबन्ने बताए।
‘दुईदुई पटक निर्वाचन भइसक्यो बहुमतको सरकार बन्दैन। प्रधानमन्त्रीलाई समस्या छ। दस पार्टीको सरकार चलाउनुहुन्छ। एउटालाई चलाइदियो यता उफ्रन्छ अर्कोलाई समायो उता उफ्रन्छ सरकार कुनबेला जाने भन्ने समस्या छ अनि कुनबेला सुशासन र समृद्धि ल्याउने?,’ उनले भने।
नभए पूर्ण समानुपातिक बनाएर जसले जति प्रतिशत मत ल्याउँछ त्यही अनुसार सरकारमा बस्ने स्वीजरल्याण्डको जस्तो प्रणाली अपनाउनुपर्ने उनले बताए।
त्यो पनि नसक्ने हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गएर मात्रै स्थायी सरकार बनाउन सकिने भट्टराईले बताए।
‘यसो नगरेसम्म यही प्रणाली अपनाइने हो भने बन्दैन बन्दैन। युवाहरू देश छोडेर हिँड्ने, हाम्रै छोराछोरी देशमा नबस्ने अनि हामीले लोकतन्त्रको डम्फू बजाएर मात्र हुन्छ? उनले भने।