नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा गृहमन्त्री श्रेष्ठलाई तत्काल राजीनामा दिन उनले आग्रह गरेका हुन्।
‘अब यसो गरौं मन्त्रीज्यू, तपाईं सार्वजनिक व्यक्ति राजीनामा दिनुस्,’ गृहमन्त्री श्रेष्ठकै अघि सांसद राईले भने, ‘सबैभन्दा राम्रो कुरा तपाईं राजीनामा दिनुस्। राजीनामा दिनुपर्यो नि! विदेश गएर काम गरी खान्छु भन्नेलाई ताकीताकी गोली हानेपछि तपाईंले राजीनामा नदिए कसले दिने?’
उनले सुरक्षा प्रमुखहरूले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी भएको घटनामा प्रष्ट कुरा नराखेको पनि बताए।
‘समस्या देखिएपछि गम्भीर रूपमा लिएर समाधान गर्नुपर्छ कि गोली हान्नुपर्छ?,’ उनले प्रश्न गरे, ‘ठाउँको ठाउँ गोली हानेर मानिस मार्न मिल्छ?’
उनले गृहमन्त्रीले मुलुक चलाउन नसकेको बताए।
‘चारैतिर अशान्ति छ। देशव्यापी रूपमा यो स्थिति छ। तपाईंले सुशासन दिएर हो त?,’ उनले भने, ‘अनि मान्छे मार्न पाइन्छ? यसरी मानिस मार्न पाइँदैन तत्काल राजीनामा दिनुस् समस्याको समाधानतिर जानुपर्छ।’
गृहमन्त्रीमा श्रेष्ठ नै निरन्तर रहिरहन नहुने उनले बताए।
‘यति शान्ति सुरक्षा कायम गर्न नसक्ने, युवाहरूलाई सम्झाउनुपर्थ्यो,’ उनले भने, ‘गोली हान्न मिल्छ? मान्छे मार्न कहाँ लेखेको छ? तिनका आमाले के भनेको छ? तपाईंको प्रहरीको कार्यशैली त्यही हो? सम्झाउनुपर्दैन? अहिले के भन्नुभयो आइजिपीले साधन स्रोत छैन भन्नुभयो? मान्छे मार्न पाइन्छ?’
बालकुमारी घटनाबारे छानबिन समिति बनेको भन्दै उनले गृहमन्त्रीले राजीनामा नदिए उक्त समितिले काम गर्न नसक्ने पनि बताए। उनले नैतिकताका आधारमा गृहमन्त्रीलाई राजीनामा दिन आग्रह गरेका छन्।
उनले सचिव, आइजिपी लगायतलाई कारबाही गर्न र पिएसओलगायत तलकालाई कारबाही नगर्न आग्रह गरे। ‘माथिकोले ढंग नपुर्याउने, तलकालाई कारबाही गर्ने?,’ उनले भने, ‘आज गएर खुरूक्क राजीनामा दिनुस्, पत्रकार सम्मेलन गर्नुस्।’