सानेपामा शनिबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले तीन विषयमा कुरा राखेका छन्।
उनले मन्त्रीहरूसँग कामको सूची पनि मागेका थिए।
सरकारमा कांग्रेस सहभागी भएको आठ महिना भएको भन्दै यो अवधिमा कांग्रेसका मन्त्रीले के-के राम्रा काम गरे त्यसको जानकारी सबैलाई हुनुपर्ने उनले बताए।
‘यो आठ महिनामा कांग्रेसका मन्त्रीले के काम गर्नुभयो त्यसको जानकारी दिनुस्। मन्त्रीका कामले नागरिकको जीवनमा के परिवर्तन आयो?,’ थापाले भने, 'ती काम तपाईं नै मन्त्री नभएको भए हुन्थ्यो कि हुँदैनथ्यो? अनि मात्र मन्त्रीका कामको प्रचार कांग्रेसका सदस्यले गर्नेछन्।'
यो सरकारमा बसेर अबका दिनमा कांग्रेसले के काम गर्ने हो टुंगो लगाउनुपर्ने उनले बताए।
‘सरकारमा बसेर अब के काम गर्ने हो लक्ष्य टुंगो लगाऔं। त्यो लक्ष्य पूरा गर्न सकेनन् भने मन्त्री फेरौं,’ थापाले भने, ‘अरू दललाई मिसन ८४ भन्ने समय छ, तर हामीले त्यसो भन्न पाउँदैनौं, अहिले नै काम गर्नुपर्छ।’
उनले महासमिति बैठकबाट शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रका लागि 'मिसन' तोकिनुपर्ने बताए।
महामन्त्री थापाले सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै पार्टीभित्र छलफल नै नगरी गठबन्धन बैठकमा विभिन्न विषयमा सहमति गर्ने गरेकोमा असन्तुष्टि जनाए।
'पार्टीभित्र छलफल नगरी गठबन्धन बैठकमा पार्टीको धारणा भनेर निर्णय गर्ने?,' उनको प्रश्न छ, ‘त्यस्तो निर्णयको भारी निर्णय गर्नेले एक्लै बोक्नुपर्छ, सिंगो पार्टीले बोक्दैन।'