गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ।
बिहीबार गभर्नर अधिकारीविरूद्ध रिट दर्ता भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
अधिवक्ता दीपकराज जोशीसहित चार जनाले उनीविरूद्ध केही समयअघि नै रिट निवेदन दिएका थिए। उक्त रिट आजमात्रै दर्ता भएको हो।
यसको सुनुवाइ शुक्रबार हुने पनि सूचना अधिकारी घिमिरेले जानकारी दिए।
गभर्नर अधिकारी २०७६ चैत २४ गते नियुक्त भएका थिए। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० सञ्चालकको योग्यता अनुसार नभएको भन्दै रिट निवेदकले दाबी गरेको छ।
उक्त दफाअनुसार नेपाली नागरिक भएको, उच्च नैतिक चरित्र भएको हुनुपर्छ।
आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको हुनुपर्छ।