नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले ७० वर्षे उमेरहदको सान्दर्भिकता सकिएको बताएका छन्।
बुधबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमालेको नवौं महाधिवेशनबाट यो व्यवस्था सुरू गरिए पनि लागु हुन नसकेकाले सान्दर्भिकता नरहेको बताएका हुन्।
एकीकृत समाजवादी एमालेकै निरन्तरता भएकाले ७० वर्षे उमेरहद राख्नुपर्ने बहस चलिरहेको छ।
नेता खनालले यसको औचित्य नरहेको बताएका हुन्।
‘हिजो नवौं महाधिवेशनतिर राखेका थियौं, ७० वर्ष भनेर। उमेरहदचाहिँ राख्यौं, उमेरहदभन्दा तलतिरको नेताचाहिँ जन्माउन सकिएन। त्यो दुःखद् कुरा भयो। ढाट राखिदिएर ढाटबाट छिर्न पाइँदैन भनेर पुग्छ कि पुग्दैन। विचारवान् युवा पंक्ति उत्पादन गर्ने कार्यभारलाई त पार्टी पंक्तिले प्राथमिकता दिएर जानुपर्ने नै छ । यो महाधिवेशनले युवालाई माथि ल्याउनुपर्ने छँदैछ,’ उनले भने, ‘यसै हेर्दा पनि उमेरहद सान्दर्भिक नै देखिँदैन। यसको सन्दर्भ नै हराइसक्यो! लागु पनि गरिएन, केही गरिएन!’
उनले केन्द्रीय कमिटीमा युवा ल्याउनुपर्ने आवश्यकता औंल्याए।
‘अस्तिको छैटौं केन्द्रीय कमिटीको बैठकमा मैले एउटा सानोसानो सर्भे गरेको थिएँ। तपाईं–हामी नै के रहेछौँ भने ६० वर्ष भन्दा माथिका ७२ प्रतिशत रहेछौं। हामी पनि बुढाखाडा हुन त धेरै टाइम त रहेनछ। त्यसो हुँदा युवालाई हामीले व्यापकरूपले अगाडि ल्याउनुपर्छ भन्ने प्रश्न तथ्यांकले नै बताइहाल्यो,’ उनले भने।