प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भोलि (मंगलबार) दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकार १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले भोलि प्रधानमन्त्री कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्न लागेको बताए।
तेस्रोपटक प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुरा गरेको यो पहिलोपटक हो।
यसअघिका कार्यकालमा उनले ९/९ महिनामात्रै सरकार सञ्चालन गरेका थिए।
पोहोर पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलले समर्थन गरेका थिए।
पछि एमाले सरकारबाट बाहिरएपछि कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दलहरू सरकारमा सहभागी भएका थिए।
एक वर्षमा सरकारका मन्त्री र सचिवहरूले सोचेअनुरूप काम गर्न नसकेको गुनासो प्रधानमन्त्री प्रचण्डको छ।