लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विवादित पृष्ठभूमि भएका नेपाली कांग्रेसका सांसद सरोज थापा (रोज राणा) लाई उद्योग तथा यातायात मन्त्री बनाएपछि विरोध भएको छ। मन्त्री थापाले आइतबार शपथ लिएर कार्यभार पनि सम्हालिसकेका छन्।
थापा २०७९ मंसिरमा भएको चुनावमा कांग्रेसबाट उम्मेदवार भई प्यूठानको प्रदेश सभा क्षेत्र (ख) बाट निर्वाचित भएका थिए।
मुख्यमन्त्री चौधरीले मन्त्रालय फुटाएर कांग्रेसबाट थापालाई उद्योग मन्त्री र माओवादीबाट कृष्णा केसी (नमुना) लाई सहरी विकास मन्त्री बनाएका थिए। मन्त्रालय फुटाएर मन्त्री थपेको र मन्त्री छनोट गर्दा समन्वय नगरेको भन्दै कांग्रेसको संस्थापनइतर समूहले मुख्यमन्त्रीसँग असन्तुष्टि जनाउँदै आएको छ।
गत वैशाखमा मुख्यमन्त्री भएका चौधरीले अझै मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। उनले एक मन्त्रालय आफैंसँग राखेका छन्।
कांग्रेसबाट मन्त्री बनेका थापाको विगत विवादित छ।
उनीविरूद्ध मानव बेचबिखनको अभियोगसमेत लागेको थियो। उनले दादागिरी, खलनायकलगायत चलचित्र निर्माण पनि गरेका थिए भने काठमाडौंको बागबजार र गङ्गबु क्षेत्रमा डान्सबार पनि चलाएका थिए। चलचित्र निर्माणको आवरणमा गुण्डागर्दीसमेत गर्ने गरेको थापामाथि आरोप थियो।
प्रहरीमा भएको रेकर्डअनुसार मानव बेचबिखनको अभियोगमा थापालाई २०६७ वैशाख १३ गते पक्राउ गरिएको थियो। मानव बेचबिखनसम्बन्धी जाहेरी परेपछि प्रहरीले थापालाई नियन्त्रणमा लिएको थियो।
प्रहरी नियन्त्रणमै रहेका बेला थापामाथि अर्को जाहेरी परेको थियो। डान्सबारमा युवतीहरूलाई नग्न रूपमा नाच्न लगाएको आरोपसहित जाहेरी परेको थियो। उनलाई प्रहरीले मानव बेचबिखनसम्बन्धी मुद्दा चलाएको थियो। त्यसबेला थापा छ महिना पुर्पक्षका लागि थुनामा बसेका थिए।
२०७३ सालमा थापामाथि बानेश्वर क्षेत्रमा खुकुरी प्रहार भएको थियो। विभिन्न ठाउँबाट असुल गरेको रकम थापाले एक्लै लिएको भन्दै उनीमाथि खुकुरी प्रहार गरेको घटनामा सूर्य लामा र विवेचन प्रजापतिलाई नियन्त्रणमा लिएको थियो।
‘यस्तो विवादित पृष्ठभूमि भएका सांसद थापालाई कांग्रेसको केन्द्रका संस्थापन पक्षका नेताहरूको दबाबमा मन्त्री बनाइएको हो, पार्टीमा लामो समयदेखि दु:ख गरेकाहरूलाई पन्छाएर मुख्यमन्त्री चौधरीले थापालाई मन्त्री बनाउँदा पार्टीभित्र पनि असन्तुष्टि बढेको छ,’ कांग्रेसका एक नेताले भने।
हामीले नवनियुक्त मन्त्री थापालाई पनि पृष्ठभूमि र मन्त्रालयको जिम्मेवारीलगायत विषयमा सोधेका छौं। उनले आफ्नो आलोचना भएकोमा कुनै प्रतिक्रिया नभएको बताए।
‘म परिणाममुखी मानिस हुँ, मैले सिनेमामा पनि रिजल्ट दिएको हो,’ मन्त्री थापाले सेतोपाटीसँग भने, ‘०७० सालमा टिकट मागेको थिएँ, पार्टीले दिएन। ०७४ मा पनि टिकट माग्दा दिएन। ०७९ मा टिकट माग्दा दियो, मैले जितेर देखाइदिएँ।’
पार्टीले विश्वास गरेर आफूलाई मन्त्री बनाएको उनले बताए।
‘म रिजल्ट दिन्छु। धेरै समय पनि लाग्दैन। तीन महिनाभित्र रिजल्ट दिन्छु,’ उनले भने, ‘मेराबारे कसले कहाँ के लेख्यो, आलोचना भयो भन्नेबारे म प्रतिक्रिया दिन चाहन्न।’
यो पनि:
मन्त्रिमण्डल बिस्तार गर्दा मुख्यमन्त्रीले पार्टीसँग समन्वय गर्नु भएन: लुम्बिनी कांग्रेस सभापति
लुम्बिनीका दुई मन्त्रीले लिए शपथ