नेपाली सेनाबाट राजीनामा दिएका उपरथी ताराध्वज पाण्डे र हालका रथी अशोक सिग्देलका नागरिकता विवादबारे प्रधान सेनापति प्रभुराम शर्माले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेर प्रष्टीकरण दिएका छन्।
नागरिकता कीर्ते विवादपछि उपरथी पाण्डेले गत कात्तिक २३ गते पदबाट राजीनामा दिएका थिए भने अर्का उपरथी सिग्देललाई मंसिर २८ गते रथीमा बढुवा गरिएको थियो।
पाण्डे भावी प्रधान सेनापतिको रोलक्रममा थिए। उनले राजीनामा दिएपछि यो रोलक्रममा सिग्देल आइपुगेका थिए।
यी दुई घटनाबारे प्रधान सेनापति शर्माले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा विस्तृतमा जानकारी गराएका छन्।
उनले दुवैले नागरिकता कीर्ते नगरेको बताए।
‘मैले प्रमाण नै ल्याएको छु, माननीयज्यूहरूलाई झुक्याउने र नेपाल सरकारको कानुनलाई मिच्ने म गर्दिनँ। ताराध्वज पाण्डेको नाम रथीका लागि सिफारिस भएको होइन। हजुरहरूले बनाएको ऐनअनुसार सात दिने सूचना निकालेको हो,’ उनले भने, ‘त्यो सूचना भनेको कसैको केही गोलमाल छ भने ल्याउनुस्, पेश गर्नुस् त्यसलाई कारबाही गर्छु भनेको हो।’
कसैलाई बढुवा सिफारिस गर्नुभन्दा पहिले केही कमीकमजोरी छन् कि भनेर सात दिने सूचना निकाल्ने चलन रहेको प्रधान सेनापति शर्माको भनाइ थियो।
सञ्चार माध्यमहरूमा पाण्डे पढेको कलेजबाट 'रजिष्टर उतारेर' ल्याई संशोधित मिति छोपेर अनेक आरोप लगाएको पाइएको उनले बताए।
‘नेपाली सेनालाई कमजोर बनाउने एउटा तत्व छ, अरूका अघि सेनालाई गिराउन खोज्ने गिरोहको काम हो यो,’ प्रधान सेनापति शर्माले भने, ‘मिडिया र सांसदहरूसँग संशोधित मिति नभएको डकुमेन्ट मात्र छ। म चुनौतीसाथ भन्न सक्छु, संशोधित मिति लेखेको रजिष्टर छ?’
उनले कसैको उमेर प्रमाणित गर्नुपरे एसएलसी, नागरिकता र चारित्रिक प्रमाण पत्रबाट मात्र प्रमाणित गर्न सकिने बताए। अहिलेजस्तो पहिले अस्पतालले जन्मेको प्रमाणपत्र दिने नदिने उनले बताए।
‘त्यही तीन निकायका आधारमा हामीले रेकर्ड जनाएका हुन्छौं। यदि गलत भयो भने सम्बन्धित निकायले नदिइकन नेपाली सेनाले न्वारन गर्दैन माननीयज्यूहरू,’ प्रधान सेनापति शर्माले भने, ‘नेपाल आर्मी कसैको न्वारन गर्ने संस्था होइन। चाहे जर्नेल वा सिपाहीको किन नहोस्!’
उनले नागरिकता विवाद भएपछि पुन: प्रमाणीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सोध्ने काम गरिएको बताए।
‘दुई पटकसम्म सिडिओ कार्यालयलाई सोधियो, ठिक छ भन्ने जवाफ दियो। त्रिविलाई पनि सोधेको, ठिक छ भनेको छ। हामीसँग जागिर खान आउँदा पहिलो दिन भरेको फारम पनि हेरेका छौं, सबै ठिक छ। तर त्यो शैक्षिक योग्यतामात्र नेपाल आर्मीले हेर्ने होइन,’ उनले भने।
तत्कालीन उपरथी पाण्डेलाई यस्तो विवादित भएपछि भोलिका दिनमा प्रधान सेनापति भए कसरी चलाउँछौं भनेर आफूले सोधेको पनि शर्माले बताए।
‘यस्तो विवादित भएपछि भोलि चिफ भयौं भने कसरी चलाउन सक्छौं भनेर मैले आधा घन्टा राखेर सोध्दा उसले तपाईं मेरो बाबुजस्तो मान्छे, मैले सक्दिनँ। विवादित भएर बस्दिनँ। छाड्छु भनेर मेरै अघि भनेर गएको हो,’ ताराध्वजले राजीनामा दिनुअगाडि यस्तो भनेको शर्मा बताउँछन्।
यसपछि प्रधान सेनापति शर्माले तत्कालीन उपरथी अशोक सिग्देलको कुरा निकाले।
‘अशोक सिग्देलको बढुवा कसरी भयो भन्ने कुरा आयो। ऊ सेकेन्ड सिनियर हो। उसको एसएलसीको सर्टिफिकेट, दुइटा नागरिकता भनेको छ, यो कुरा सही हो। मिडियाले २ नागरिकता भनेर भनेको छ। एउटै छ भनेको छैन,’ उनले भने, ‘म देखाइदिन्छु नागरिकता दुइटा नै छ। एउटा रूपन्देहीबाट लिएको छ, त्यो हराएर अर्को जाजरकोटबाट लिएको छ। तर एकै छ। प्रतिलिपीमा घर, ठेगाना र वर्ष १७ कै भनेको छ। त्यहाँ ढाँटेको भए त मैले समात्ने हो त।’
तर बाहिर भने सिग्देलको दुइटा नागरिकता रहेको र सच्याएको भन्ने आएको उनले बताए। ‘मसँग पनि प्रमाण छ, नत्र कसरी सिफारिस गर्ने?,’ सिग्देलका नागरिकता समिति सदस्यहरूलाई देखाउँदै प्रधान सेनापति शर्माले भने।
सिग्देलको नागरिकताबारे पनि जाजरकोटको प्रशसानलाई चिठी लेखिएको उनले बताए। ‘तर यो कुरा कसैले भन्दैन। खाली सेनाको बेइज्जत गर्ने हिसाबले मात्र लेख्छ। हामीले कति दु:ख गरेको छ। विवाद नआओस् भनेर। सेनालाई गलत देखाउने? सेनामा रेकर्ड सिष्टम राम्रो छैन, मनलाग्दी गर्छ भनेर देखाउने तत्वहरूको खेल हो यो, म त्यो पनि भनिदिन्छु, मलाई केही छैन,’ प्रधान सेनापति शर्माले भने।
यो पनि;
यही तालले ०८३ सालमा पनि फास्ट ट्र्याक बन्दैन: प्रधान सेनापति
सिग्देलको सर्टिफिकेट सेनामा जागिर खानुभन्दा अघि नै त्रिविले गल्ती गरेको भनेर लेखेर पठाएको पनि उनले बताए। ‘त्रिविले सुरूमा गल्ती गरेको र यही राख्नुहोला भनेर जागिर खानुअघि लेखेर पठाएको छ। विवाद मात्र ल्याएर हुँदैन, जे पनि बोल्नेलाई कारबाही गर्न पाउने कानुन हुनुपर्यो,’ उनले भने, ‘सेनालाई बरबाद गर्नेलाई कारबाही गर्नुपर्यो, सेनाले जहिले पनि गलतलाई ठिक भन्दैन।’
सेनामा गलत भए कानुनबमोजिम सहुँला भनेर स्वघोषणा पत्रमा हस्ताक्षर गर्ने गरिएको उनले बताए।
‘हरेक प्रमोसन भएको मानिसलाई म हस्ताक्षर गराउँछु, औंठाछाप लगाएर। त्यती गर्दा पनि कहिलेकाहीँ गाली र भनाइ खानुपर्ने रहेछ। तर म सहन सक्छु। त्यो मलाई होइन, म बसेको कुर्सीलाई हो। गल्ती भएको छैन, गल्ती भए भयो भन्न मलाई कुनै लाज हुन्न,’ प्रधान सेनापति शर्माले भने।