नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले साङ्गठनिक र समसामयिक राजनीतिक प्रस्तावलाई संयुक्त रूप दिने गरी छलफल गरेका छन्।
पुस १६ गतेदेखि १९ गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकमा पेश गर्न कांग्रेसले महामन्त्री थापाको नेतृत्वमा साङ्गठनिक र अर्का महामन्त्री शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्ताव तयार समिति बनाएको थियो।
कांग्रेसले महासमिति बैठकलगायत विषयमा छलफल गर्न शुक्रबार दिउँसो सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
उक्त बैठकअघि बिहीबार अपराह्न महामन्त्रीद्वय थापा र शर्मा प्रस्तावलाई संयुक्त रूप दिन छलफलमा जुटेको महामन्त्री शर्माको सचिवालयले जनाएको छ।
कांग्रेसले महासमिति बैठक केही समय सार्ने गृहकार्य गरिरहेको छ तर महामन्त्री थापा र शर्माले तोकिएकै समयमा महासमिति बैठक गर्न सभापति शेरबहादुर देउवासँग आग्रह गरिरहेका छन्।
गत मंसिर १३ गते बसेको पदाधिकारी बैठकमा सभापति देउवाले 'पुसको ठण्डीमा महासमिति बैठक नगरौं' भनेका थिए। तर संस्थापनइतर समूहको बुधबार भएको भेलाले तोकिएकै समयमा महासमिति बैठक हुनुपर्ने निष्कर्ष निकालेको थियो।