नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपात प्रयास भएको छ।
बिहीबार मध्याह्न करिब १२ बजेतिर अध्यक्ष ओलीमाथि लेगुवा भन्ने ठाउँमा हातपात प्रयास भएको हो।
स्वागत गर्न भन्दै फूलमाला लिएर लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात प्रयास गरेका थिए। ओलीमाथि हातपात प्रयास गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको भिडिओमा स्वागतका लागि लाइनमा बसेका महेश राईले अध्यक्ष ओलीमाथि हातपातको प्रयास गरेको देखिन्छ। हातपात गर्दा ओलीले छलेकाले उनलाई नलागेको कार्यक्रममा सहभागी भएका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सेतोपाटीलाई बताए। राईले अध्यक्ष ओलीमाथि हातपात गर्न नपाएको उनले भनाइ छ।
अध्यक्ष ओलीमाथि आक्रमण गर्न लागेको देखेपछि सुरक्षाकर्मीले राईको एउटा हात समाएको भिडिओमा देखिन्छ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा अध्यक्ष ओलीलाई उत्तेजित व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर भएको प्रचार प्रति ध्यानाकर्षण भएको जनाएका छन्। तथ्य नबुझी सामाजिक सञ्जालमा अनर्गल प्रचार नगर्न उनले अनुरोध गरेका छन्।
धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार ती व्यक्तिले मादक पदार्थ सेवन गरेको पाइएको छ। ‘उसको व्यवहार शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको छ,’ उनले भने।
अध्यक्ष ओली मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम अभियानका क्रममा आज धनकुटा पुगेका थिए।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार मादक पदार्थ सेवन गरेका व्यक्तिले ओलीमाथि हात उठाएका थिए। ‘उनले मादक पदार्थ सेवन गरेको पाइएको छ,’ उनले भने, ‘कुनै राजनीतिक कार्यकर्ता होइनन्। उनलाई नियन्त्रणमा लिइएको छ।’
अध्यक्ष ओलीसँगै रहेका एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले मापसे गरेका व्यक्ति अध्यक्ष ओलीलाई माला लगाउन आएको र अनियन्त्रित भएर आफैं लडेको बताएका छन्।
शीर्षक सम्पादन गरिएको- सम्पादक
भिडिओ: