नेपाली कांग्रेसका दुई जना नेताले त्रिभुवन विश्वविद्यालय लगायतमा उपकुलपति नियुक्ति गर्दा राजनीतिक भागबन्डा नगर्न ध्यानाकर्षण गराएका छन्।
महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उच्च शिक्षा सुधार गर्न अब ढिला नगर्न आग्रह गरेका छन्।
‘हाम्रो उच्च शिक्षा अस्तव्यस्त छ, त्यसको प्रमुख कारण शिक्षामा भएको दलीयकरण र विश्वविद्यालय नियुक्तिमा भएको भागबन्डा हो,’ थापाले भने, ‘यसमा हामी सबै उत्तिकै दोषी छौं। तर यसलाई सच्याउनु पर्छ।’
उच्च शिक्षा सुधार र गल्ती सच्याउने कुराको प्रस्थान विन्दु त्रिवि र उपकुलपति नियुक्तबाट हुन सक्ने पनि उनले बताए।
‘त्रिवि उपकुलपतिलगायत अन्य नियुक्ति भागबन्डा र स्वार्थका आधारमा होइन। विश्वविद्यालय र उच्च शिक्षा सुधार गर्न सक्ने ज्ञान, सीप, दक्षता, कार्ययोजना भएको व्यक्तिलाई नियुक्ति गरौं,’ थापाले भने, ‘हामीले अब पनि यसो गरेनौं भने धेरै ढिला हुनेछ। उच्च शिक्षा सुधार गर्न अब ढिला गर्ने छुट हामीलाई छैन।’
केन्द्रीय सदस्य प्रदीप पौडेलले त्रिवि उपकुलपति नियुक्तिमा सार्वजनिक विज्ञापन गर्न आग्रह गरेका छन्।
‘सरकारलाई मेरो आग्रह छ- लाखौं विद्यार्थीको भविष्य जोडिएको उच्च शिक्षा अध्ययनको थलो त्रिभुवन विश्वविद्यालयमा भिसी नियुक्तिका विषयमा सार्वजनिक विज्ञापन आह्वान गर्नुहोस्,’ उनले भने, ‘आवेदन परेकाहरू मध्येबाट खुला र पारदर्शी रुपमा नियुक्ति गर्नुस्। नियुक्ति राजनीतिक रङ्गको आधारमा होइन वा कसैको दबाब र प्रभावमा नपरी योग्यता, क्षमता र योजनाका आधारमा गर्नुस्।’
त्रिविमा उपकुलपति नियुक्त नहुँदा प्रा.डा. शिवलाल भुसाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएको छ।