परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद आज कतार प्रस्थान गरेका छन्। दोहा सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।
आइतबारदेखि कतारमा सुरू हुन गइरहेको दोहा २१ औं फोरममा सहभागिता जनाउने क्रममा परराष्ट्रमन्त्री साउदले इसरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनका प्रेस संयोजक केशव साउदले जानकारी दिए।
कतारमा रहँदा मन्त्री साउदले आफ्नो कतारी समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तानबिन साद अल–मुखारीसँग भेटवार्ता गर्नेछ।
मन्त्री साउदले यसअघि यही मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।
यस्तै, उनले मंसिर ७ गते नेपालका लागि इसराइलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाउनु भई जोशीको रिहाइका बारेमा छलफल गर्ने मन्त्री साउदको स्वकीय सचिवालयले जनाएको छ।
परराष्ट्रमन्त्री साउदले हिजो शुक्रबारमात्रै विपिनको रिहाइका विषयमा इसराइल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरूको विषय हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेको उनका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए।
नेपाल र इसराइलबीचको ऐतिहासिक सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने पनि परराष्ट्रमन्त्रीले स्पष्ट पारेको जोशीले बताए।
जवाफमा संयोजक हर्चले इसराइलले जोशीलाई पारिवारिक सदस्य जस्तो मानेको र उनको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन व्यक्त गरे।
सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि जोशी इसराइल गएका थिए।