नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले छाड्न आदेश दिएका ७ जना प्रतिवादी आइतबारमात्रै छुट्ने भएका छन्।
शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलले पुर्पक्षका लागि थुनामा रहेका ७ जना प्रतिवादीहरूलाई धरौटीमा छाड्न आदेश दिएका थिए। जिल्ला अदालत काठमाडौंले धरौटी माग गरेका तीन जना प्रतिवादीलाई पनि अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ।
शुक्रबार उक्त आदेश जारी गरे पनि उनीहरू आजै नछुट्ने अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।
‘आज आदेश भएप नि उहाँहरू सम्भवत: आइतबारमात्रै छुट्ने छन्। यहाँ भएको आदेशको कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा मिसिल पठाउनुपर्ने हुन्छ,’ उनले सेतोपाटीसँग भने, ‘आज कार्यालय समय पनि सकिएको हुँदा पर्सीमात्रै छुट्ने सम्भावना छ।’
अदालतले भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख, हज समितिका अध्यक्ष शमशेर मियाँसँग १० लाख, पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीसँग १० लाख, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपसँग ३० लाख, हरिभक्त महर्जन र रामशरण केसीसँग १५-१५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
उनीहरूले मागेबमोजिम धरौटी बुझाए मात्रै थुनामुक्त हुनेछन्। रकम बुझाउन नसकेमा काठमाडौं जिल्ला अदालतले मुद्दाको अन्तिम किनारा नलगाउँदासम्म थुनामै बस्नुपर्ने हुन्छ।
लक्ष्मी महर्जन, टंक गुरूङ, केशव तुलाधर र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतले आशिष बुढाथोकीलाई पुर्पक्षको लागि थुनामा राखेको थियो। उक्त आदेशलाई उच्चले बदर गरी साधारण तारेखमा छाड्न आदेश दिएको हो। उनी पनि आइतबार छुट्नेछन्।
यस्तै जिल्ला अदालतले लक्ष्मी महर्जनसँग ५ लाख, टंक गुरूङसँग १० लाख र केशव तुलाधरसँथ १५ लाख धरौटी माग गरेको थियो। जिल्लाको आदेश बदर गर्दै उनीहरू तीनै जनालाई पनि अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो।
पूर्वगृहमन्त्री खाणको हकमा भने दुई न्यायाधीशहरूबीच मत बाझिदा अर्को इलजासले निर्णय गर्ने भएको हो।
उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा खाणलाई छाड्न पर्ने राय दिएका थिए। तर न्यायाधीश प्रकाश खरेलले उनलाई पुर्पक्षको लागि थुनामै राख्नुपर्ने राय दिएपछि मत बाझिएको हो।
अब यसको निर्णय एकल न्यायाधीशको इजलासले गर्ने प्रवक्ता भट्टराईले बताए। त्यसको पेशी अर्को साता तोकिनेछ।
अदालतले नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राई, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई थुनामै राख्न आदेश दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर ३ जनालाई धरौटी माग गरेको थियो। यसमा सरकारी वकिल कार्यालयले ३० जनालाई प्रतिवादी बनाएको थियो।
यो पनि: बालकृष्ण खाणबारे अर्को इजलासले निर्णय गर्ने
नक्कली भुटानी शरणार्थी प्रकरण: टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै
नक्कली भुटानी शरणार्थी प्रकरण: बालकृष्ण खाणलाई छाड्ने कि थुन्ने भन्ने विषयमा बाझियो राय