प्रतिनिधि सभा अन्तर्गतका विभिन्न समितिका सभापतिहरूले सांसदहरू बैठकमा नआएको गुनासो सभामुखसँग गरेका छन्।
सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संसद सचिवालय परिसरमा डाकेको बैठकमा उनीहरूले समिति बैठकमा सांसदहरू नआउँदा कोरम पुग्न छाडेको गुनासो गरेका हुन्। त्यस्तै सभापतिहरूले सरकारले पनि निर्देशन मान्न छाडेको, बैठकमा आउन मन्त्रीहरूले आनाकानी गरेको गुनासो गरेका छन्।
‘हामीले समितिका बैठकमा कोरम नपुग्ने समस्या देखापरेको छ भनेर सभामुखलाई भन्यौं’, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले सेतोपाटीसँग भने, ‘देशभर अनुगमन र निरीक्षणमा जान बजेटको पनि अभाव देखिएको र सरकारले समितिलाई दिएको निर्देशन नमानेको विषय राखिएको छ।’
सांसद साहले धनुषा नगराइनकी आरती साहको मृत्यु प्रकरणमा छानबिन गर्न दिएको निर्देशनबारे सरकारले अटेर गरेको बताए।
यो पनि: छोरीका लागि न्याय माग्दै १२० दिनदेखि चिसो भुइँमा रात बिताइरहेका आमा-बुवा
‘समितिमा विभिन्न उजुरी परिराखेको अवस्था छ। हामी सरकारलाई निर्देशन गर्छौं’, साहले भने, ‘सरकार मुकदर्शक भएर बसेको अवस्था छ। कारागारभित्र झडप भएर मृत्यु भएकाहरूलाई छानबिन प्रक्रिया अघि बढाउने विषयमा दिएको निर्देशन कार्यान्वयन भएका छैनन्।’
समिति सभापतिहरूले एउटा समितिलाई वार्षिक रूपमा जम्मा १० लाख रुपैयाँ बजेट दिएकोमा आपत्ति जनाएका थिए। उनीहरूले समितिलाई प्राप्त भएको बजेटले बैठक बस्न समेत असहज भएको उल्लेख गरेका थिए।
समिति सभापतिहरूले बिहान १० बजेदेखि दिउँसोको ४ बजेभित्र बैठक राख्न गरिएको निर्देशनले पनि सांसदहरू बैठकमा जुट्न समस्या भएको उल्लेख गरेका थिए।
कर्मचारीहरूलाई बिहान छिट्टै र साँझ अबेरसम्म काममा लगाउँदा भत्ता दिनुपर्ने भएकाले समितिहरू दिउँसोको समयमा बस्ने गरेका छन्। तर सभापतिहरूले भने यसरी दिउँसो बैठक गर्दा सांसदको कोरम पुग्न समस्या हुने बताएका हुन्।
‘यसपटक सरकारले संसदलाई अत्यन्त कम बजेट दिएको छ। बजेट कम भएकाले अनुगमन र मूल्यांकन गर्नै नसक्ने स्थिति छ’, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले भने, ‘कार्यालय समय १० बजेदेखि ४ बजेभन्दा अघिपछि बैठक नराख्नु भनिएको छ। सांसदहरू त जतिखेर समय हुन्छ, त्यतिखेर बैठक बस्नुपर्ने हुन्छ। संसद त आफूले चाहेको समयमा बैठक बसेर निर्णय गर्ने संस्था हो। कर्मचारीको समस्याले हामी सांसदको काम रोकियो।’
सभापति पोखरेलले सरकारलाई दिएका निर्देशनहरू कार्यानव्यन नभएको विषयमा समेत बैठकमा कुरा उठाइएको बताए।
प्रतिनिधि सभाकै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले पनि बजेट अभावले काम गर्न समस्या भएको बताए।
‘बैठकमा कोरम नपुग्ने समस्या छ। नेताहरू संसद नचलेको बेला बाहिर आफ्नो क्षेत्रमा जानुहुन्छ। अर्को बजेटको अभाव छ। संसद चलेको बेला बैठक राख्नु भन्ने विगतमा निर्देशन भएको छ’, सभापति यादवले भने, ‘अनि समितिमा पर्याप्त स्रोत साधन छैन। कोठाहरू साँघुरा छन्। कुनै महत्वपूर्ण छलफलका बेला पत्रकारहरू बस्ने ठाउँ हुँदैन।’
पोखरेलले जस्तै यादवले पनि सरकार समन्वयको कुरामा उदासिन रहेको बताए।
‘समन्वयन गर्नुपर्ने कुरामा सरकार उदासिन छ’, यादवले भने, ‘समयमा उपलब्ध नभइदिने। गरेको निर्णयलाई सही समयमा कार्यान्वयन नगरिदिने समस्या छ।’
बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले सांसदहरू अनुपस्थित हुनेसँगै मन्त्री पनि व्यस्तता देखाएर बैठकमा अनुपस्थित हुने गरेको गुनासो गरेका थिए।
सभामुख घिमिरेले सांसदहरूको कुरा सुनेपछि आफूले कोरम नपुग्ने समस्याबारे दलका नेताहरू र दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्ने बताएका थिए।
साथै सभामुख घिमिरेले प्रतिनिधि सभाको निर्वाचनपछिको दुई वटा अधिवेशनबाट कानुन बनाउन नसकिएको उल्लेख गर्दै समिति सभापतिहरूलाई आफ्नो समितिमा प्राप्त भएका विधेयक टुंगोमा पुर्याउन निर्देशन दिएका छन्।