क्यानडाको राजदूतका लागि सिफारिस भएका भरतराज पौड्यालको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ।
समितिको आइतबारको बैठकले परराष्ट्र मन्त्रालयका सचिवसमेत रहेका पौड्यालको नाम अनुमोदन गरेको हो।
समितिमा पौड्यालमाथि सांसदहरूले विभिन्न प्रश्न सोधेका थिए।
उनीमाथि परराष्ट्र सचिव हुँदा सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा आफ्नै छोरीलाई स्वीट्जरल्याण्ड पठाएको आरोप लागेको थियो।
सांसदहरूले उनीमाथि लागेको लिखित उजुरीबारे सुनुवाइका बेला प्रश्न उठाए। पौड्यालले यस्तो प्रश्नको जवाफ दिनु पर्दा आफूलाई अप्ठ्यारो लागेको बताएका थिए।
‘म परराष्ट्र सचिव भएको मान्छे पदको दुरूपयोग गर्ने भए अरू थुप्रै विषयमा गर्न सक्थें होला। तर मैले इमान्दारी छोडेको छैन,’ जवाफका क्रममा पौड्यालले भने, ‘यस्तो प्रश्न सुन्दा मलाई साह्रै अप्ठ्यारो महसुस भयो। मेरी छोरी उनकै बलबुतामा आंशिक छात्रवृत्तिमा नाम निकालेर गएकी हुन्।’
त्यसअघि पनि आफ्नी छोरीले १४ सय विद्यार्थीमध्ये पहिलो नम्बरमा नाम निकालेको बताएका थिए।
राजदूतमा अनुमोदन भएका पौड्यालले दक्षताका आधारमा परराष्ट्र मन्त्रालयका सचिवहरू पहिले पनि राजदूतमा सिफारिस हुने गरेको बताएका थिए।
उनले राजदूतका रूपमा आफूले सकेको योगदान गर्ने बताए। उनलाई सरकारले गत कात्तिक ३ गते क्यानडाको राजदूतका लागि सिफारिस गरेको थियो।
परराष्ट्र सचिव रहेका पौड्यालको कार्यकाल यही मंसिर २० गते सकिँदैछ।