संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालमा अब राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन्।
कपिलवस्तुको तौलिहवामा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले केही दिन यता राजा फर्काउने भनेर केही तत्वहरू लागि परेको भन्दै चिहानमा पुगेको राजतन्त्र फर्किन्छ भनेर कसैले सपनामा पनि नसोचे हुने उनले बताए।
‘लोकतान्त्रिक गणतन्त्रको विकल्प अरू कुनै पनि तन्त्र हुन सक्दैन, कसै कसैले राजा फर्किन्छ भन्दैछन् राउटेहरूका राजा कहिलेकाहीँ काठमाडौंमा आउँछन् तर, अब चिहानमा पुगेको राजा फर्किने कुरा कसैले गर्छ भने उसको सपना मात्र हो,’ मन्त्री किराँतीले भने।
जनताको लामो संघर्ष र बलिदानीपछि प्राप्त उपलब्धि र व्यवस्थाको विरूद्धमा बोल्ने हक कसैलाई नभएको भन्दै आवश्यक परे सरकारले प्यारासुट जम्प गर्ने बताए।
‘जनतालाई बोल्ने अधिकार लोकतन्त्रले नै दिएको हो। व्यवस्थाको विरूद्धमा कोही बोल्छ भने सरकारले व्यवस्था बचाउनको निम्ति प्यारासुट जम्प गर्छ,’ उनले भने।
ठूलो संघर्षबाट नेपालको विविधतालाई मध्यनजर गरी संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको भन्दै मन्त्री किराँतीले इतिहासमा अंकित भएका राजा अब फर्किएर नआउने उनले स्पष्ट पारे।
उनले नेपालमा रेडियो बजाउन लाइसेन्स लिनुपर्ने अवस्थाबाट नागरिकलाई अधिकार सम्पन्न बनाएको यो व्यवस्थाको विकल्प नभएको बताए।
मन्त्री किराँतीले देशको भौगौलिक बनावट र जातीय विविधता अलग अलग भए पनि आपसमा मिलेर बसेका नेपालीहरूलाई विभिन्न तत्वबाट भत्काउने प्रयास भइरहेको भन्दै जातीय र साम्प्रदायिक भड्काव निम्त्याउन खोज्नेहरूको षड्यन्त्र पनि सफल नहुने बताए।
नेपालमा हिमाल, पहाड र तराईमा बसोबास गर्नेहरू आपसमा मिलेर बसेको उल्लेख गर्दै मन्त्री किराँतीले हिमाल पहाड र तराई आपसमा अलग भएर बस्न नसक्ने बताए।
‘तराई बेगर पहाड बाँच्न सक्दैन, पहाड बेगर तराई बाँच्न सक्दैन, एउटै धागोमा उनेर बसेका कुनै पनि जातजाति एकअर्का बेगर अधुरो रहन्छन्,’ उनले भने।
हिन्दु, मुस्लिम, क्रिश्चियन र बुद्धिष्ट जुनसुकै धर्म मान्ने र आस्था राख्नेहरू भए पनि एकअर्काका रक्षक र सारथी भएर सदियौंदेखि बसोबास गर्दै आएको उनले बताए।
‘मुक्तिनाथमा बुद्ध र हिन्दुको पूजा गरिन्छ, माइपोखरीमा बुद्ध हिन्दु र किराँतको पूजा गरिन्छ, हलेसीमा बुद्ध, हिन्दु र किराँतको संगमस्थल छ, लुम्बिनीलाई मुस्लिमहरूले जोगाएका छन्, यस्तो संसारमा कहाँ छ’, मन्त्री किराँतीले भने।
कुनै पनि तत्वले नेपाली समाजलाई फुटाउन नसक्ने उनले बताए।