नेपाली कांग्रेसले भूकम्पपीडितका लागि टहरा बनाउन श्रमदान गर्ने भएको छ।
टहरा बनाउन इन्जिनियर र डकर्मीसहित स्वयमसेवक टोली जाजरकोट र रूकुम पश्चिम पठाउने धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले निर्णय गरेको हो।
‘जाजरकोट र रूकुम पश्चिममा भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयमसेवक टोली पठाउने निर्णय भएको छ,’ प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सेतोपाटीसँग भने, ‘प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक पनि रहनुहुन्छ। एउटा टोलीमा १० जनाका दरले स्वयमसेवक पठाउने निर्णय भएको छ।’
चिसोले गर्दा भूकम्पपीडित समस्यामा परेको भन्दै कांग्रेसले टहरा निर्माणमा श्रमदान गर्ने निर्णय गरेको हो। साथै टहरा निर्माणका लागि दिने भनिएको राहत रकम छिटो उपलब्ध गराउन पनि सरकारलाई कांग्रेसले आग्रह गरेको छ।
प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार सुत्केरी र वृद्धवृद्धा रहेका परिवारलाई बस्नका लागि टहरा निर्माण कार्य प्राथमिकतामा राखिएको छ। चिसोले गर्दा अहिलेसम्म १० जना भूकम्पपीडितको मृत्यु भइसकेको छ।
कांग्रेसले जाजरकोट र रूकुम पश्चिममा गरी कूल एक हजार टहरा बनाउने तयारी गरेको छ।
‘स्वयमसेवक पठाएर भूकम्पबाट अति जोखिममा परेको सुत्केरी र वृद्धवृद्धाका परिवारलाई टहरा बनाइदिन्छौं,’ उनले भने, ‘टहरा निर्माणका लागि पुगेका स्वयमसेवकका खर्च पार्टीले ब्यहोर्छ।’
पदाधिकारी बैठकमा भूकम्प प्रभावित क्षेत्र पुगेका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले भूकम्प पीडितका अवस्था र समस्याबारे जानकारी गराएका थिए।
कांग्रेसले भूकम्पपीडितलाई सहयोगका लागि सरकारी कोषमा ५० लाख रुपैयाँ पनि सहयोग गरेको थियो।