प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ठूलो संघर्ष र बलिदानबाट जनताले प्राप्त गरेको अधिकार उल्टाउने कोशिस भइरहेको बताउँदै त्यसलाई एकतावद्ध भएर परास्त गरिने बताएका छन्।
शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लामो संघर्षपछि जनताले अधिकार पाएको मन नपराएकाहरूले यसलाई उल्ट्याउन खोजेको बताउँदै त्यस्ता प्रवृत्तिलाई परास्त गरिने बताएका हुन्।
‘केही सामन्ती तत्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन। उनीहरू विभिन्न षड्यन्त्रमा लागेका छन्,’ उनले भने, ‘१२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ छौं। त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौं।’
प्रधानमन्त्री प्रचण्डले सरकारले देश र जनताका पक्षमा महत्त्वपूर्ण कामहरू गरेको बताए।
भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापित, जनतालाई सेवा दिने कुरामा पनि सरकार इमानदार भएर लागेको उनको भनाइ छ।
‘हामी इमानदार भएर लागेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारका फाइलहरू खोलिँदैछ, यो प्रक्रिया रोकिन्न। सरकारले राम्रो काम गरेका कारण प्रतिगामीहरू आत्तिएका छन्।’
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा राम्रो सुधार आएको पनि बताए ।
‘तर दवावमुक्त भइसकेको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मंसीर ४ गते मैले अर्थतन्त्र सुधार्न बृहत बैठक बोलाएको छु। त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ।’