उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नरेन्द्र केसीले थुनामुक्त गरी पाउँ भन्दै दिएको निवेदनमाथि अर्को पेशी मंसिर ५ गतेका लागि तोकेको छ।
बिहीबार न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासले अर्को पेशी मंसिर ५ गतेका लागि तोकेको उच्च अदालत पाटनका रजिष्ट्रार ठगीन्द्र कट्टेलले जानकारी दिए। उनका अनुसार पुर्पक्षको आदेशविरूद्ध परेका निवेदन बिहीबारमात्रै सुनुवाइ हुँदै आएको थियो। केसीको मुद्दामा भने बिहीबारबाहेक पनि सुनुवाइ गर्न आदेश दिएको हो।
‘यस मुद्दाको प्रकृति र कानुन व्यवसायीको संख्या हेर्दा हप्तामा एक दिनमात्र सुनुवाइ गरेर नपुग्ने देखियो। त्यसैले बिहीबारमात्रै सुनुवाइ गर्दै आएकोमा अब मंसिर ५ गते देखि अरू बार पनि सुनुवाइ गर्ने आदेश भएको हो,’ उनले भने।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो। जसमध्ये १७ जनालाई पुर्पक्षका लागि थुनामा र ३ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो।
ठगी, कीर्ते, संगठित अपराध र राज्यविरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो। जसमा १० जना फरार छन्।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र आशिष बुढाथोकी पुर्पक्षका लागि थुनामा छन्।
अदालतले टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख र केशव तुलाधरसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरूद्ध २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो।