चार दिनदेखि भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रूकुम र सल्यानमा रहेका भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बुधबार घाइते र चिकित्सकहरूसँग भेट गरेका छन्।भूकम्पमा परी घाइते भएकाहरूको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ।
विनाशकारी भूकम्पमा परी घाइते भएकामध्ये केहीको अवस्था अझै सुधार हुन सकेको छैन।
सुधार हुन नसकेका बिरामीलाई काठमाडौं लगायतका अस्पतालमा रिफर गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन्।
‘केही बिरामीको अवस्था अझै गम्भीर छ, उहाँहरूको उपचार भेरी अस्पतालमा सम्भव नभए अर्काे ठाउँमा पठाउनु पर्छ,’ मन्त्री ज्वालाले चिकित्सकहरूसँग कुरा गर्दै भने, ‘घाइतेहरूको उपचार गर्न सरकारले कुनै कसरत बाँकी राख्दैन, उपयुक्त अस्पतालमा रिफर गर्नुहोस्।’
जाजरकोट, रूकुम, सल्यान लगायत प्रभावित क्षेत्रमा करिब २ सय जना घाइते भएका छन्। घाइतेमध्ये धेरै भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ।
बुधबार बिहान मन्त्री ज्वालाले सबै घाइते र उपचारमा संलग्न चिकित्सकहरूसँग भेट गरेका छन्।
चार दिनअघि भूकम्प प्रभावित क्षेत्रमा पुगेका मन्त्री ज्वाला दुई जिल्लाका विपत् व्यवस्थापनको बैठकमा सहभागी भएका थिए भने नेकपा एकीकृत समाजवादीका नेता/कार्यकर्तालाई राहत र उद्धारमा लाग्न निर्देशन दिएका छन्।