कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियुक्त गरेका दुई मन्त्रीले शपथ लिएका छन्।
शुक्रबार माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुले शपथ लिएका हुन्।
कार्कीले कात्तिक १ गते बुधबार कोशी प्रदेशसभाबाट भारी बहुमतसहित विश्वासको मत पाएका थिए। उनी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
तर अहिले एमालेको समर्थन विपरीत कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको हो।
एमालेले मुख्यमन्त्रीसँगको पछिल्लो छलफलमा गठबन्धनका अरु दललाई सरकारमा ल्याए पनि माओवादीलाई भने ल्याउनै नहुने अडान राखिरहेको थियो। केन्द्रको गठबन्धन प्रदेशमा लागु भए आफू सरकारमा नबस्ने एमालेले चेतावनी दिँदै आएको थियो।
आफ्नो सहमति बेगरै माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सामेल गराउने मुख्यमन्त्रीको कदमबाट एमाले क्रुद्ध बनेको छ।
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि गठबन्धन कार्यान्वयन हुँदा आफ्नो पार्टी सरकारमा नरहने बताए।
‘प्रदेशमा एमाले र कांग्रेसले मात्रै मिलेर सरकार बनाउनुपर्छ भन्ने हाम्रो कुरामा हामी अडिग छौं’, उनले भने, ‘सोमबार यसबारे पार्टीमा छलफल हुनेछ। त्यसपछि हामी निर्णयमा पुग्नेछौं।’