संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरूद्ध उजुरी आह्वान गरेको छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरूद्ध उजुरी आह्वान गरेको हो।
उनी उपयुक्त छैनन् भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधार खोली समितिमा सूचना वा उजुरी दिन सकिनेछ।
उजुरीकर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहने समितिले बताएको छ।
समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य पशुपति शमसेर जबराले प्रस्तावित राजदूत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चार माध्यमहरूमार्फत् सूचना प्रकाशित गर्न प्रस्ताव गरे।
सो प्रस्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको छ।
उजुरी आह्वानपछि प्रस्तावित राजदूतको संसदीय समितिमा सुनुवाइ हुनेछ। समितिले अनुमोदन गरेपछि राजदूत नियुक्त हुनेछन्।