कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवा लगायत पदाधिकारी र केन्द्रीय सदस्यले आगन्तुक पाहुनालाई समारोहमा स्वागत अभिवादन गरेका छन्।
भर्खरै सुरू भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ। कांग्रेसले बडादसैं, तिहार, नेपाल संवत् र छठ लगायत पर्वका अवसरमा चियापान आयोजना गरेको हो।
कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ।
बिपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ सालदेखि चियापान सुरू गरेको हो।
२०३८ सालसम्म बिपीले यसलाई निरन्तरता दिएका थिए। त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन्।