नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट हुने अुनसन्धान कमजोर भएको बताएका छन्।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उपाध्यक्ष पाण्डेले कतिपय ऐन बनाउने सवालमा आयोगलाई दिइएको अधिकारको दुरूपयोग भएको बताए।
उनले स्थानीय तहमा सहभागी भएका राजनीतिक दलहरूले आफ्नो दलका कार्यकर्तालाई ठीक ठाउँमा राख्ने कर्तव्य निभाउन आवश्यक रहेको बताए।
उनले फाइललाई वर्षौंसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ कि छैन? भन्दै प्रश्न समेत गरे।
उनले आयोगले कमजोरी गरेको बखतमा बाहेक न्याय दिन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए।
उनले भने, ‘कतिपय ऐन बनाउने सवालमा उहाँहरूलाई पाएको अधिकारलाई पनि अलिकति दुरूपयोग हुने काम भएको छ। त्यतातिर हामीले ध्यान दिनुपर्छ। स्थानीय तहमा सहभगी भएका राजनीतिक दलहरूले आफ्नो दलका कार्यकर्तालाई ठीक ठाउँमा राख्ने कर्तव्य हाम्रो पनि हो। कहिलेकाहीँ अख्तियारले सम्झाउँछ, कहिलेकाहीँ आफैंले पनि सम्झिँदा हुन्छ। यतातिर पनि हामीले ध्यान दिनुपर्छ। फाइललाई वर्षौंसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ कि छैन?’
उनले अगाडि भने, ‘रातो घरको बेसगरी आतंक छ। त्यो आतंक होइन, कमजोरी गरे भने छुट्टै हो नत्र यो घरले न्याय दिन्छ भन्ने विश्वास जगाउनु पर्छ। यो विश्वासमा केही कमी भएका छन्। अनुचित कार्य अनुचित ढंगले नै प्रयोग भएकाले संविधानबाट पनि यो शब्द हटाउनु परेको हो। अख्तियारको विस्तृत अनुसन्धान कमजोर छ। त्यसकै लागि एक्सपोटिजको विकास गर्ने ढंगले लाग्नुपर्छ। क्षमता वृद्धिको लागि भूमिका खेल्नुपर्छ।’
सांसद पाण्डेले अख्तियारमा क्षमता वृद्धि हुन जरूरी रहेको बताए।