नेपालमा सुन तस्करी गर्ने नाइके चिनियाँ नागरिक दाओजिन वाङको निर्देशनमा राहुल महरा इलेक्ट्रिक चुरोट (भेप) छुटाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पुगेको खुलेको छ।
सरकारी वकिल कार्यालय काठमाडौंले भेपभित्र लुकाएर ९ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका चार जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दायर गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले यस प्रकरणमा तीन वटा कसुरमा अनुसन्धान गरी सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको हो।
सरकारी वकिलले यसमा चार जनालाई अभियुक्त बनाएको छ। जसमध्ये एक जना फरार छन्।
पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा, सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका-४ सितापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक ३९ वर्षीय दावा छिरिङ र काठमाडौं महानगर-६ बौद्धका ५७ वर्षीय निमा गुरूङविरूद्ध मुद्दा दायर गरेको हो। निमा गुरूङ फरार छन्।
लोकेन्द्रकुमार सुन तस्करी प्रकरणमा प्रमुख व्यक्ति दाओजिन वाङका सवारी चालक हुन्।
उनीहरूविरूद्ध तीन वटा कसुरमा मुद्दा दायर भएको छ। आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो।
गत पुस १० गते फ्लाइ दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले ल्याएको ७३ बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन थियो। सुन भन्सार कार्यालयबाट चोरी भएपछि यो घटना बाहिरिएको थियो।
राहुल महराले प्रहरीलाई दिएको बयानअनुसार उनले दाओजिन वाङलाई सन् २०१२ देखि चिनेका थिए।
चीनको छेन्दुमा चिनियाँ भाषा अध्ययन गर्न जाँदा दाओजिनसँग उनको चिनजान भएको थियो। त्यतिबेला दाओजिनले आफूलाई फलफुलहरू नेपालमा आयात गर्ने गरेको भनेर महरालाई चिनाएको पनि उनले बयानमा बताएका छन्।
राहुलले ६ महिना चीनमा अध्ययन गरेर नेपाल फर्केपछि पनि उनीहरू दुई जनाबीच फोनमा कुराकानी हुने गरेको बताएका छन्।
भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जफत गरेपछि भने दाओजिन वाङले राहुललाई सम्पर्क गरेका थिए।
‘दाओजिन वाङले मलाई फोन गरी मेरो साथीको इलेक्ट्रिक चुरोट (भेप) एयरपोर्टमा रोकिएको छ, के भएको हो निकाल्न मिल्छ मिल्दैन बुझिदिनुपर्यो भनेर मलाई अनुरोध गरेको कारण मैले प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेको थिए,’ राहुलले प्रहरीसँग भनेका छन्, ‘उनलाई सोधपुछ गर्दा भेप जफत भएको छ। भन्सार तिरेर पनि फिर्ता दिन मिल्दैन यो लिलामी प्रक्रियामा अगाडि बढ्छ भनेर मलाई भनेका थिए।’
यसरी अधिकृतले सामान छुटाउन नमिल्ने बताए पनि दाओजिन वाङले पटक पटक राहुललाई सम्पर्क गरी छुटाउनको लागि पहल गरेको देखिन्छ।
करिब दुई हप्तापछि दाओजिन वाङले राहुल महरा आफैंलाई भन्सार कार्यालयमा पुगेर बुझ्नलाई भनेको बयानमा देखिन्छ। जफत भइसकेको सामान छुटाउन नमिल्ने बताए पनि दाओजिनले राहुल महरामार्फत् उक्त भेप छुटाउन दबाब दिएका थिए।
‘करिब दुई हप्ता पछाडि दाओजिनसँग मेरो कुरा हुँदा उनले मलाई तपाईं नै भन्सारमा गएर बुझिदिनु पर्यो भनेकाले मैले पनि के भएको रहेछ बुझौं न त भनेर म एयरपोर्ट गएको थिएँ,’ उनले प्रहरीसँग भनेका छन्।
उनीसँग दाओजिन वाङ, उनका सवारी चालक लोकेन्द्रकुमार पौडेल र निमा गुरूङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कार्यालय प्रमुख अरूण पोखरेललाई भेट्न गएका थिए।
दाओजिन वाङ र असिन भन्ने योसिन पेङ भन्सार कार्यालयको भुइँ तलामै कुरेर बसेका थिए।
अरूण पोखेरललाई भेट्दा जफत भएको भेपलाई लिलामी प्रक्रियामा पठाइने तर भन्सार तिरेर लग्न नमिल्ने जानकारी गराएका थिए। त्यसो भनेपछि आफूहरू फर्किएको राहुलले बताएका छन्।
अरूण पोखरेललाई आफूले कति पटक मेसेज वा कल गरेको भन्ने जानकारी आफूलाई नभएको पनि उनले बयानमा भनेका छन्।
उनले पटक-पटक कार्यालयमा गएर पोखरेललाई नभेटेको पनि बताएका छन्। यसै विषयमा छोरा राहुल भेट्न जानुअघि पनि पूर्वसभामुख कृष्णबहादुर महराले पनि अरूण पोखरेललाई फोन गरेका थिए।
कृष्णबहादुरले अरूण पोखरेललाई फोन गरी आफ्ना छोरा राहुल भेट्न आउँदै गरेको भन्ने जानकारी गराएको अरूणले बताएका थिए।
‘कृष्णबहादुर कमराले फोन गरी मेरो छोरा राहुल महरा आउँछ के रहेछ हेरिदिनू, सहयोग गरिदिनू भनेका थिए। राहुल महराले मेरो मोबाइलमा एसएमएस गरी म राहुल महरा हो। भेटेर कुरा गर्नु छ भनेर मेसेज पठाएको थियो,’ अरूण पोखरेलले गरेको कागजमा भनेका छन्,‘मसँग पहिले चिनजान नभएको आफूलाई राहुल भनि चिनाउने व्यक्ति मेरो कार्यालयको कार्यकक्षमा आएर भेटी भेप चाँडो लिलाम गरी मेरो समूहलाई नै दिलाइदिनु भनेका थिए।’
उनीहरूले सुटकेससमेत हेर्नलाई अनुरोध गरेका थिए। तर हेर्न भने पाएका थिएनन्।
यही प्रकरणमा सिआइबीले कृष्णबहादुर महरासँग भने कागजमात्रै गराएको छ।
कृष्णबहादुर महराले पनि दाओजिन वाङलाई चिनेको हुँदा उनको अनुरोधमा अरूण पोखरेलसँग कुराकानी गरेको बताएका छन्।
‘मैले अरूण पोखरेललाई पहिलेदेखि चिनेको भएको हुनाले के कसो भएको हो, कानुनबमोजिम के गर्न मिल्छ हेरिदिनु होला भनी फोन गरेको हो। मेरो छोरा राहुल के कारणले जफत भएको रहेछ कानुनबमोजिम मिल्ने भए सहयोग गरी दिनु भनेर अरूण पोखरेलको सम्पर्कमा गएका हुन्,’ कृष्णबहादुर महराले प्रहरीसँग भनेका छन्।
सुन तस्करका नाइके दाओजिनलाई उनले पनि फलफूल व्यवसायीको रूपमा मात्रै चिनेको बताएका छन्।