राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले विद्यालय शिक्षा विधेयक पर्याप्त छलफलबिनै सदनमा ल्याइएको बताएका छन्।
विधेयकबारे प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सैद्धान्तिक छलफलमा भाग लिएका सांसद वाग्लेले विधेयक छलफलका लागि जनतामा लैजानुपर्ने पार्टीको मत रहेको बताए।
‘विधेयक छलफलका लागि जनतामा लैजानुपर्थ्यो भन्ने हाम्रो पार्टीको मत छ,’ उनले भने, ‘प्रतिनिधि सभा नियमावलीको दफा १०८ मा उल्लेख भएअनुसार जनताको प्रतिक्रिया प्राप्त गर्न प्रचार गरियोस् भन्ने प्रावधानको उपयोग गर्न नसकेकोमा म व्यक्तिगत रूपमा खेदप्रकट गर्न चाहन्छु।’
केही सातासम्म उपसचिवको व्यक्तिगत घर्रामा विधेयक राखिएको उनले बताए।
‘यो विधेयक पर्याप्त छलफलमा गएकै छैन,’ उनले भने, ‘शैक्षिक केन्द्रहरूको पुनर्संरचना, पाठ्यक्रम खाका, शिक्षकहरूका जायज समस्या, परीक्षा, अभिभावक र समुदाय सम्बन्धलगायत विषयमा छलफल हुन्छ नै।’
उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको ध्यानाकर्षण गराउँदै विधेयकमा रहेको आर्थिक टिप्पणीको बुँदाका कुरा राखेका थिए।
‘बजेटको कति प्रतिशत यसमा खर्च हुन्छ भन्ने मोटामोटी अनुमान पेश गर्नुपर्थ्यो,’ उनले भने, ‘संसदीय अभ्यास भएका देशमा यस्तो अभ्यास छ। खर्च लाग्छ कति लाग्छ थाहा छैन भन्ने हचुवाका भरमा हाकाहाकी तेस्रो पानामा लेख्ने? यो राम्रो भएन।’
उनले हलुका र हचुवा प्रवृत्तिबाट छुटकारा पाउनुपर्ने बताए।