उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोव फेनबीच शिष्टाचार भेटवार्ता भएको छ।
बिहीबार रक्षामन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा प्रगाढ बनाउँदै लैजाने विषयमा छलफल भएको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले नवनियुक्त बेलायती राजदूतलाई स्वागत गर्दै दुई देशबीच सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ठ र सौहार्द्रपूर्ण सम्बन्ध रहेको बताए।
बेलायती राजदुत फेनको नेपाल बसाइको क्रममा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो बनाउँदै नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने मन्त्री खड्काले विश्वास व्यक्त गरे।
भेटमा रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको समेत उपस्थिति थियो ।