कोशी प्रदेशका राजनीतिक दलहरूले प्रदेशको नामकरणपछि उठेको पहिचानको आन्दोलनले सुरक्षा चुनौती बढाएको उल्लेख गर्दै यो विषयलाई केन्द्र सरकारले उच्च चासो राख्नुपर्ने बताएका छन।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा विराटनगरमा आयोजित सुरक्षासम्बन्धी छलफलमा प्रदेशका नेताहरूले कोशी प्रदेश संवेदनशील बन्दै गएको बताएका हुन्।
पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस प्रदेश सभापति उद्धव थापाले कोशीको नामकरणपछि प्रदेशमा सुरक्षा चुनौती बढेको बताए।
‘नामकरणपछि आन्दोलन भयो। हामीले सम्बोधन प्रयास गर्यौं। तर हाम्रो तहबाट मिलाउन सकेनौं। अब संघले यसलाई समाधान गर्नुपर्छ। पहिचानको विषय थप पेचिलो हुँदै जाँदैछ। केन्द्रबाट सम्बोधन गर्न माग गर्दछु,’ उनले भने।
कोशीमा धर्मको नामबाट अशान्ति हुन खोजेको उल्लेख गर्दै उनले यो समस्या थप बल्झिने सम्भावना रहेको बताए।
‘यो देशभरिकै समस्या हो। बेलैमा सम्बोधन नगरे गाह्रो हुन्छ,’ थापाले भने।
माओवादी केन्द्र कोशीका प्रदेश सचिव गणेश उप्रेतीले प्रदेशको नाम राखेपछि अशान्ति सुरू भएको उल्लेख गर्दै यसको हलको लागि केन्द्र सरकारले रणनीति बनाउनु पर्ने उल्लेख गरे।
‘पहिचानको मुद्दा राजनीतिक आधारमै हल गर्नुपर्छ। यहाँ साम्प्रदायिक चलखेल भइरहेको छ। कोशीमा अलि बढी निगरानीमा राख्नुपर्छ,’ उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेश तिम्सिनाले पहिचान र धर्मको विषयले प्रदेशमा जोखिम बढेको बताए।
जसपाका प्रदेश अध्यक्ष दीपक याक्खाले पहिचानवादीले आफ्ना माग शान्तिपूर्ण रूपमा उठाइरहेको भए पनि राज्यबाट आन्दोलनमा दमन भएको बताए।
‘अहिले पनि झुठा मुद्दा लगाएर थुनिएको छ। यसले असन्तोष बढाएको छ,’ उनले भने, ‘वार्ता र संवादमार्फत् समाधानको पहल गरौं। लामो समयदेखि मिलेर बसेको समाज हो हाम्रो। त्यसैले तनाव बढाएर खेल्ने मैदान कसैलाई नदिऔं।’
एकीकृत समाजवादीका अध्यक्ष बलदेव चौधरीले प्रदेश नामकरणबारे पुनः विचार गरेर प्रदेश शान्त बनाउने उपाय खोज्न आग्रह गरे।