काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिरहेका अभियन्ता ई: ले आफूहरूलाई भेट्न मेयर बालेन शाह नभई एक जना नगर प्रहरी आएको प्रष्टाएका छन्।
अभियन्ता ई: लगायतका कुरा सुन्न आफू उनीहरू उभिइरहेकै ठाउँमा पुगेको दाबी गर्दै मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखेका थिए।
मेयर बालेनको स्टाटसमा जवाफ दिँदै अभियन्ता ई: ले भनेका छन्, ‘मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करिब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए - त्यसोभए मेयरले भेट्दैन।’
सेतोपाटीसँग कुराकानी गर्दै अभियन्ता ई: ले आफूहरूलाई भेट्न मेयर नभई नगर प्रहरी आएको बताए।
मेयर शाहले भने अभियन्ताहरू संवादमा आउन नचाहेको दाबी गरेका थिए।
‘विगत केही दिनदेखि केही अभियनताहरू आन्दोलनमा हुनु हुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैँ गएर बार्ता गरौं यहाँहरूको कुरा र समस्या सुनौंभन्दा अभियनताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन,’ उनले भनेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौं, सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं। के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नपर्ने?’
यो पनि: ६ दिनदेखि उभिएर बालेनलाई बाचा सम्झाइरहेका ईः