प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अब चिनियाँ लगानी भित्रने बताएका छन्।
बेइजिङस्थित नेपाली दूतावासमा आइतबार बेलुका आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बेइजिङमा नेपाल-चीन लगानी सम्मेलनले त्यो सन्देश दिएको बताएका हुन्।
त्यसका लागि नेपालमा नीतिगत र कानुनी जटिलतालाई सहजीकरण गर्ने प्रक्रिया अगाडि बढाएको पनि प्रधानमन्त्री प्रचण्डले बताए।
‘नेपालमा चिनियाँ लगानी सुरक्षित छ भन्ने कुराको विश्वास दिलाउन मैले कोशिस गरेँ र चिनियाँ प्रतिनिधिहरूले पनि त्यो कुरालाई राम्रोसँग आत्मसात् गर्नुभएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
उनले २१ औं शताब्दीमा कुनै पनि मुलुक आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रसँग भएको पुँजी र उनीहरूको अनुभव र क्षमतालाई सदुपयोग गरेर मात्रै हासिल गर्न सक्ने बताउँदै सरकारको एक्लै पहलले विकास र समृद्धिलाई गति दिन नसकिने बताए।
त्यसकारण आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर देशलाइ लैजान आफूले प्रधानमन्त्रीको सपथ लिइसकेपछि र मन्त्रिपरिषद्को पहिलो बैठकबाट विकास र समृद्धिको निम्ति सरकार र निजी क्षेत्रबीच सहकार्य र समझदारीको नयाँ यात्रा सुरू गर्ने निर्णय गरेको उनले बताए।
‘जसरी सोचेको त्यसरी गति दिन नसकेपनि हामी एकपछि अर्को त्यो दिशामा कदम अगाडि बढाउँदै छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘चीन भ्रमणसम्म आइपुग्दा राष्ट्रपति सी सँग भएका छलफलसम्म आइपुग्दा हामी देशभित्रका मात्र होइन देशबाहिरका निजी क्षेत्रसँग पनि सहकार्य गरी नेपालमा विदेशी लगानीको अनुकूल वातावरण बनाउने काममा योगदान पुग्दै गएको विश्वास गरेको छु।’