नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टी विधि, विधानअनुसार सञ्चालन नभएको बताएका छन्।
आइतबार सानेपामा भएको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले पार्टीलाई विधिसम्मत तरिकाबाट सञ्चालन गर्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन्।
‘पार्टीमा मूल्यांकनको परिस्थिति बनेन। चलायमान ढंगले संस्थागत रूपमा पनि पार्टी चलेन,’ उनले भने, ‘किन पार्टीमा विधिसम्मत निर्णय हुन सक्दैन? सभापतिलाई ध्यानाकर्षण गराउन चाहन्छु, पार्टी यसरी चल्दैन।’
मुलुकका समसमायिक विषयमा र विकासबारे पनि पार्टीले दृष्टिकोण सार्वजनिक नगरेको उनले बताए। ‘मुलुकप्रति हाम्रो दायित्व र जिम्मेवारी छैन?’ उनले प्रश्न गरे।
उनले फरक प्रसंगमा बोल्दै महासमिति बैठकमा हिन्दु राष्ट्र एजेन्डाबारे छलफल हुनुपर्ने बताए।
‘पहिले पनि हामीले हस्ताक्षर गरेर दिएको हो यसबारे महासमितिमा छलफल भएन,’ उनले भने, ‘महामन्त्रीलाई आग्रह गर्न चाहन्छु- हामी निर्वाचित सदस्य हौं। महासमितिमा यो एजेन्डा मुल हुनुपर्छ। नत्र धेरै अप्ठ्यारो पर्नेछ।’