नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको अधिवेशन माघमा हुने भएको छ।
कपिलवस्तुको शिवगढीमा गत भदौ २१ देखि २३ गतेसम्म बसेको अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय कमिटी बैठकले माघ १० देखि १३ गतेसम्म काठमाडौंमा सम्मेलन गर्ने निर्णय गरेको हो।
यो निर्णयसँगै प्रकाश सीको नेतृत्वमा रहेको अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय समितिलाई २३ औं राष्ट्रिय सम्मेलन आयोजक समितिका रूपमा रूपान्तरण गरिएको महासचिव ललित सीले जानकारी दिए।
बैठकले सम्मेलनको तयारीका लागि विद्यार्थी नेताहरूको जिम्मेवारी पनि बाँडफाँट गरेको छ।
विभिन्न आठ वटा उपसमितिहरू बनाएर कामको जिम्मेवारी तोकिएको महासचिव ललितले बताए।
यस्तै, बैठकले सोही सम्मेलनबाट विद्यार्थी संगठनको नाम फेर्ने निर्णय गर्दै उपयुक्त नामका लागि सुझाव संकलन गर्ने निर्णय पनि गरेको छ।