नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको विवाद मिलेको छ।
सोमबार बिहान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव वर्षमानलगायतसँग क्रान्तिकारीका दुबै समूहसँग भएको छलफलमा २२ औं राष्ट्रिय सम्मेलनमा आयोजक कमिटीमा रहेका सबैलाई पदाधिकारी बनाउने र दुबै कमिटीमा रहेकालाई आयोजक कमिटी बनाउने सहमति भएपछि विवाद टुंगिएको हो।
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले संगठनमा लामो समयदेखि देखिएको विवाद मिलेको बताइन। उनले समानान्तर रुपमा अर्काे संगठन बनाएका नेताहरु पुरानै जिम्मेवारीमा फर्किएको बताइन।
समानान्तर कमिटीको अध्यक्ष रहेका पवन कार्कीले पनि विवाद मिलेको बताए।
उनले आयोजक समितिमा पदाधिकारी विस्तार गर्ने र विस्तार गर्दा २२ औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा रहेका र हाल केन्द्रीय समितिमा क्रियाशिल रहेका सिनियरहरुलाई स्वतः बढुवा गर्ने सहमति भएको बताए।
अध्यक्ष, उपाध्यक्षहरु र महासचिव रहेको कार्यालय टिम बनाउने सहमति भएसँगै कार्की पुरानै जिम्मेवारीमा फर्किएका छन्।
उनी क्रान्तिकारी दुई टुक्रा हुनअघि उपाध्यक्ष नै थिए। सहमति गर्दा पदाधिकारीहरुको संख्या नै सयको हाराहारीमा पुग्ने कार्कीले जानकारी दिए। विहानको बैठकले विधान सम्मेलन र राष्ट्रिय सम्मेलनको मिति तय गर्ने निर्णय पनि गरेको छ।
२०७८ असोजमा अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्ष जनार्दन शर्मा निकट पञ्चा सिंहलाई बनाएपछि अध्यक्षकै आकांक्षी वर्षमान पुन पक्षका कार्की र उनको एउटा समूहले समानान्तर कमिटी घोषणा गरेको थियो।
अध्यक्ष प्रचण्डले यी दुबै टिमसँग बारम्बार छलफल गरे पनि सहमति जुट्न सकेको भने थिएन।